चितवनः मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु हुने गरेको पाईएको छ । हरेक वर्ष मानिसमा पाँच वटा नयाँ रोग भेटिने गरेकोमा जस मध्ये तीनवटा रोग पशुबाट उत्पत्ती हुने गरेको पाईएको हो ।
पशु तथा मत्स्य विकास निर्देशनालय हेटौडाका बरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार मानिसमा लाग्ने संक्रामक रोग मध्ये ६० प्रतिशत जुनोटिक रोग रहेका छन् । उहाँका अनुसार नयाँ संक्रामक रोगहरुमा ७५ प्रतिशत पशुबाट हुने गरेको छ । पशुको मासु र दूधबाट ती रोगहरु संक्रमित हुने गरेको उहाँको भनाई छ । जसका कारण मासु जाँच अनिवार्य रहेको उहाँले बताउनुभयो ।
पशु बधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावली २०५७ कार्यान्वयन आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मानिसमा सर्ने रोग नियन्त्रणका लागि स्वच्छ मासु आवश्यक पर्छ ।” चितवनमा मात्रै दैनिक ८० देखि ९० हजार कुखुरा, ३५ गोटा भैसी, ४०० देखि ५०० बाख्रा, २५ गोटा बंगुर बध हुने गरेको उहाँको भनाई छ । यसलाई व्यवस्थित वधशालाको आवश्यक रहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका पशु सेवा शाखाका डा. रविन वस्ताकोटीका अनुसार महानगरमा मात्रै ४०० वटा भन्दा बढी वधस्थल भए पनि व्यवस्थित र जनहित अनुसारका छैनन् । तिनीहरुलाई व्यवस्थित गर्दै स्वच्छ मासुको खपत वढाउन आवश्यक रहेको उहाँले बताउनुभयोे । अहिले सबै मासु पसलहरुलाई सरसफाईको कुरा मात्रै गर्दै आएको बताउँदै उहाँले अब ऐन कार्यान्वयन गर्दा कोलचेन (मासु राख्ने कोठाको तापक्रम) समेतका कुराहरुमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यस नियमावलीले मासु बिक्री गर्दा छाला रहित मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले ऐन कार्यान्वयनमा लैजान स्थानीय तहहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो । दशै अघिनै ऐन कार्यान्वयनमा ल्याउने गरी कामलाई अघि वढाउन स्थानीय तहहरुलाई उहाँले आग्रह गरिएको बताउनुभयो । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ र नियमावलिले दिएको अधिकार प्रयोग गरी आम जनतालाई स्वच्छ मासु खुवाउनु पर्ने उहाँले बताउनुभयो ।
पशुको स्रोत, स्वास्थ्य अवस्था, वध र मासु ढुवानी तथा भण्डारण अनियन्त्रित हुनु, जथाभावी पशु वधगर्ने, मरेका वा बिरामी पशुपन्छीको मासु बिक्री गर्ने, सडेगलेका मासु बिक्री गर्ने गर्दा मानिसमा रोगको संक्रमण फैलने गरेको उहाँले जानकारी दिनुभयो । मिसावट गर्ने, छाला हड्डी लगायतका उपपदार्थ जथाभावी फाल्ने, फ्रिज भन्दा बाहिर धेरै मासु राख्ने लगायतका कामहरुले स्वच्छ मासु पाउन मुस्किल हुने गरेकाले ऐन र नियमावली कार्यान्वयनमा ल्याउन लागिएको उहाँको भनाई छ ।






