चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले बिलबिजकबिना बिक्रीका लागि राखिएका ठूलो संख्यामा मोबाइल फोन बरामद गरी दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंले सञ्चालन गरेको मोबाइल पसलमा खानतलासी गर्दा विभिन्न सिरिजका एप्पलका आईफोन ५० थान, सामसुङ ८ थान, रेडमी २ थान, एप्पल आईप्याड १ थान र भिभो १ थान गरी ६२ थान मोबाइल तथा उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भरतपुर महानगरपालिका–१० रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुषाललाई नियन्त्रणमा लिएको छ। उनको साथबाट बिलबिजकबिना बोकेको सामसुङ कम्पनीका ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै घटनामा बरामद मोबाइलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले अवैध तथा बिलबिजकबिना हुने मोबाइल कारोबार नियन्त्रणलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस !