भरतपुर,(रासस):शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।” उहाँले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिलाई पनि व्यवस्थित गर्ने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयाम सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको बताउनुभयो । ‘प्रधानाध्यापक, शिक्षक, समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयको जग्गा, कक्षा कोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।” उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थितरूपमा चलाउन नयाँ ढङगले काम गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक सामुदायिक विद्यालयले गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामान्य शिक्षाले समाज परिवर्तन नहुने उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठिक कदम चालेको बताउनुभयो । उहाँले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताउनुभयो । कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उहाँले बाँकी रहेका कलेजको समस्या पनि छिट्टै टुङगिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !