
चितवनः खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीलाई पितृशोक परेको छ । मेयर चौधरीका पिता जोखाराम चौधरीको सोमबार बेलुकी ८ बजे ८१ वर्षको उमेरमा खैरहनी स्थित निवासमा निधन भएको हो । स्वर्गीय जोखाराम उच्च रक्तचाप र दम रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका ६ छोरा र एक छोरी हुनुहुन्छ । मेयर लालमणि चौधरी जोखारामका माइला छोरा हुनुहुन्छ ।
राजनीति र समाजसेवामा सक्रिय जोखाराम चार पटक वडा अध्यक्ष हुनुभएको थियो । स्वर्गीय जोखारामको देवघाटमा दाहसंस्कार गरिएको छ । प्रदेश ३का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका इन्चार्ज कृष्णप्रसाद खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले स्वर्गीय जोखारामप्रति अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।