चितवनः जिल्लामा रहेका निजी अस्पतालहरुमा उपचारका लागि आउने एच आईभि संक्रमितहरुका लागि समान व्यवहार गर्नु आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन् । एड्स हेल्थ फाउण्डेसन (एएचएफ) भरतपुर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले भेदभाव विना उपचार गर्न आवश्यक रहेको वताएका हुन ।
जिल्लामा रहेका निजी अस्पतालहरु संगको अन्तरक्रिया कार्यक्रममा निजी अस्पतालहरुवाट एच आई भि संक्रमितहरुले सहज रुपमा उपचार पाउन नसकेको गुनासो आएको जानकारी गराईएको थियो । जिल्लाका निजी अस्पतालहरुमा आउने संक्रमित विरामीहरुको सामान्य उपचार समेत नहुने गरेको गुनासो संगै फाउण्डेसनले यो समस्या समाधान खोज्न हरेक वर्ष यो कार्यक्रमा गर्दै आएको छ ।
सरकारी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई मात्र यस संग सम्वन्धित तालिम दिईने भएको र उपचारका लागि आउने विरामीहरुलाई वढि मात्रामा ठूला निजी अस्पतालहरुले सरकारी अस्पतालमा पठाउने गरेका छन् । निजी अस्पतालहरु संग सहयोगि संस्थाको रुपमा काम गर्न सकीने र विरामीहरुको उपचारका लागि भेदभाव अन्त्य गर्न सकीने विषयमा सो अवसरमा छलफल भएको थियो ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, एएचएफका विरीष्ठ कन्सलटेण्ट डा. युवानिधि वस्यौला लगाएतले वोल्नु भएको थियो । निजी अस्पतालहरुले संक्रमितहरुलाई हेर्ने दृष्टिकोणको अन्त्य गर्न सकेमा मात्रै उनीहरुले सहज रुपमा सेवा पाउने उहाँहरुको भनाई रहेको थियो ।
कार्यक्रममा एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।