चितवनः पछिल्लो समय सुधार हुँदै गएको यहाँको बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा यहि मंसिर १ गतेवाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सुरु गरिने भएको छ । सुरुमा साँझको समयबाट सेवा सुरु गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार साँझ ४ः३० वजेबाट विस्तारित स्वास्थ्य सेवा उपलव्ध गराईने छ । काठमाडौंका अस्पताल सिभिल र गंगालालकै नमुनामा सेवा प्रदान गरिने आचार्यले जानकारी दिनुभयो । जसवाट विरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाईएको छ । रेडीयोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलव्ध गराईने भए पनि अरु सेवामा केहि वढि शुल्क लाग्ने छ ।
यद्यपी नीजिको तुलनामा निकै सस्तोमा विरामीले उपचार पाउने आचार्यको भनाई छ । अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलव्ध गराई वाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो । पछि भत्तालाई केहि कम गरि वाहिर काम गर्न छुट दिईएको थियो । त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले विरामी वाहिर पठाउने गरेको आरोप लाग्ने गरेको छ । आचार्यले विस्तारीत सेवा अस्पतालमा सुरु भए पछि साँझमा पनि विरामी वाहिर जानु नपर्ने वताउनुभयो ।
विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन् । विरामीवाट लिईने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलव्ध गराईने छ । झण्डै तीन वर्ष अघि अस्पताल अस्तव्यस्त वनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । पछिल्ला समयमा सेवा विस्तार संगै उपचार गर्न आउने विरामीको संख्या वढ्दै गएको छ । २० वर्ष अघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतिय सिमा क्षेत्रवाट विरामी उपचारका लागि आउने गर्दछन् ।
गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३ सय ७७ जनाले सेवा लिएका छन् । जस मध्ये ७ हजार ८ सय ९३ जनाको क्यान्सर पहिचान भई उपचार भईरहेको छ ।
एक सय शैयावाट सुरु भएको अस्पताल हाल चार सय पचास शैया संञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !