चितवनः साउन महिनावाट क्रमश वढेको डेङ्गुको संक्रमणका कारण यहाँको पर्यटकीय क्षेत्र प्रभावित भएको छ । यसले भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि प्रभाव पारेको छ ।
भदौ १५ पछि सौराहामा पर्यटकको आगमन वढ्ने गरेको भए पनि यस वर्ष भने न्यून संख्यामा वढेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईका अनुसार गत वर्षहरुमा यतिवेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे । तर यस वर्ष यो संख्या २ सय हाराहारी मात्र रहेको छ । यस वर्ष वसमा आउने पर्यटक दैनिक २०÷३० जनाको हाराहारी रहेका छन् भने समुहमा आउनेहरु दुई सय भन्दा कम रहेका छन् ।


गत वर्षहरुमा समुहमा आउने पर्यटक र वसमा आउने पर्यटक पाँच÷पाँच सय हाराहारी हुने गरेको भट्टराईको भनाई छ । सौराहावाट दैनिक ६ वटा वस काठमाण्डौ र दुई वटा वस पोखरा चल्ने गर्दछन् । ती वसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । जिल्लाका विभिन्न स्थानवाट सर्वसाधारण चढेकै कारण ती वसले खर्च धानेको जनाईएको छ ।
भट्टराईले सौराहा क्षेत्रमा डेङ्गु नदेखिएको भए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको वताउनु भयो । रत्ननगर नगरपालिकामा हाल सम्म १ सय ३५ जनामा डेङ्गुको संक्रमण देखिएको छ । ती सवै वजार क्षेत्रका रहेका छन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । जिल्लामा पनि असोज लागे संगै यो संख्या घटेर गएको उहाँको भनाई छ । डेङ्गु नियन्त्रणको क्रममा रहेको केसी वताउनु हुन्छ ।
सौराहामा रहेका १ सय २० होटलको सात हजार हाराहारी क्षमता रहेको छ । सौराहा क्षेत्रमा डेङ्गुको संक्रमण छैन भन्ने संन्देश समयमानै पुर्याउन सकेमा पर्यटकको संख्यामा वृद्धि हुने व्यवसायीहरुको भनाई छ । यति वेला यूरोपियन र चिनिया पर्यटक सौराहा आएका छन् । क्रमश नेपालीको संख्या वढ्दै जाने वताईएको छ ।
भरतपुर र आसपासका होटल पनि प्रभावित
भरतपुर र गैंडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलहरु पनि डेङ्गुका कारण प्रभावित वनेका छन् । रेष्टुरेन्टहरुको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमहरु स्थगित भएका छन् । द नारायणी रिसोर्ट गैंडाकोटका महाप्रवन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ ।
भदौ २६ देखि २९ गते सम्म कार्यक्रम तय भएकोमा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उहाँले वताउनु भयो । अन्य कार्यक्रम गर्नेहरुले पनि पछाडी सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको संक्रमण घट्दै गएकाले पूर्ववत अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ ।
होटल रोयल सेन्चुरीका अप्रेसन म्यानेजर राजेन्द्र थापाका अनुसार रेष्टुरेन्टहरुको व्यापारमा ४० प्रतिशत सम्म गिरावट आएको थियो । केहि दिन यता क्रमश व्यापार वढ्न थालेको छ । कोठमा वस्ने, रेष्टुरेन्टमा खान आउनेहरुको संख्यानै घटेको थियो । असोज महिना लागे संगै डेङ्गुको संक्रमणमा कमी आएको छ । दशैंको समयमा डेङ्गुको संक्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत अवस्थामा व्यापार फर्कने व्यवसायीहरुको अनुमान रहेको छ ।
पर्यटन विकास समिति चितवनका महासचिब विश्व सुवेदीले डेङ्गुका कारण धेरैले यहाँ आउने पर्यटकले भ्रमण स्थगन गरेको वताउनु भयो । डेङ्गु नियन्त्रणका क्रममा रहेकाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा संन्देश प्रवाहा गर्नुपर्ने उहाँको भनाई छ । सौराहा क्षेत्रमा डेङ्गुको संक्रमण नभए पनि जिल्लामा भएका कारण यसको हल्लाले सौराहामा आउने पर्यटक प्रभावित भएको उहाँले जानकारी दिनुभयो । समयमानै डेङ्गुको संक्रमण नियन्त्रणमा आएको संन्देश प्रवाहा गर्न नसकेमा यसले लामो समय सम्म असर पार्ने सुवेदीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !