चितवनः जिल्लामा गत साउन यता डेङ्गुको संक्रमण वढ्दो क्रममा देखिएको छ । जिल्लामा भेटिएका संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाको सवैभन्दा धेरै रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार महानगरमा साउन यता १ हजार ७ सय ५७ जनामा डेङ्गुको संक्रमण भेटिएको छ ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आउने विरामीहरु मध्ये महानगरका धेरै रहेको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनु भयो । केसीका अनुसार जिल्लामा संक्रमीत १ हजार ९ सय ५४ जना रहेका छन् । ती मध्ये सवै भन्दा वढि भरतपुर महानगरको रहेको उहाँले बताउनु भयो । महानगर वाहेक जिल्लाका अन्य स्थानीय तहहरुमा १ सय ८८ जनामा संक्रमण देखिएको छ । यहाँ महानगर सहित सातवटा स्थानीय तहहरु रहेका छन् । अन्य जिल्ला वाहिरका रहेको उहाँले जानकारी दिनु भयो ।
महानगरको वडा नम्वर २,३,४, ८,९,१०,११ र १२ मा वढि संख्यामा प्रभावित रहेको उहाँले वताउनु भयो दिनु भयो । यस्तै रत्ननगर नगरपालिकामा ८१ जना, खैरहनी नगरपालिकामा २७ जना, राप्ती नगरपालिकामा १६ जना, कालिका नगरपालिकामा ३० जना, माडी नगरपालिकामा २९ जना र ईच्छाकामना गाउँपालिकामा १४ जना डेङ्गु संक्रमित भेटिएको उहाँको भनाई छ ।
यहाँका अस्पतालमा वाहिरी जिल्लाका समेत उपचारका लागि आउने गर्दछन् । जसका कारण चितवनमा डेङ्गुको संक्रमण भएका विरामीको संख्या २ हजार ५ सय १५ जना पुगेको छ । केसीका अनुसार ८ हजार २ सय २१ जनाको रक्त परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन ।
जिल्लाका अस्पतालहरुमा उपचार गराउन आउनेहरुमा मकवानपुर, नवलपुर, तनहुँ, काठमाडौं, रुपन्देही, लमजुङ्, गुल्मी लगाएतका जिल्लाहरुका रहेका छन् । जिल्लामा हाल सम्म डेङ्गुको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !