चितवनः भरतपुर अस्पतालले अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई विदा नवस्न आग्रह गरेको छ । अस्पतालको योजना समितिको वैठकले जिल्लामा डेङ्गुको संक्रमणले महामारी रुप लिन थाले संगै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विदामा नवस्न आग्रह गरेको हो ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको वैठक वसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालय संग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिनु भयो । यस संगै विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीहरुलाई विदामा नवस्न आग्रह गर्ने निर्णय पनि गरिएको उहाँले जानकारी दिनु भयो ।
अस्पतालमा आएका बिरामी फर्कन नपरोस भन्नका लागि सवै खालका व्यवस्था मिलाईएको उहाँले वताउनुभयो । अस्पतालमा रहेका बिशेषज्ञ चिकित्सक र सेवाका कारण धेरैको विश्वास भएकाले बिरामीले पालो कुर्नु पर्ने हुँदा धैर्यता अपनाई सेवा लिन समेत तिवारीको आग्रह छ ।
अस्पतालमा ज्वरोका बिरामीको संख्या वढे पछि आजवाट ज्वरो क्लिनिक सुरु गरिएको छ । तीनवटा क्लिनिकवाट ज्वरोका विरामीको परिक्षण थालिएको हो ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको संख्या अत्याधिक वढे पछि नियमीत वहिरंग सेवाले धान्न कठिन भए संगै क्लिनिक संञ्चालनमा ल्याईएको हो । उहाँका अनुसार एकै दिन वहिरंग सेवामा नयाँ १ हजार ९ सय २२ जना सम्म बिरामीले टिकट काटेका थिए । ती मध्ये ९ सय भन्दा वढि ज्वरोका रहेका थिए । यस संगै पुराना ज्वरोका तीन सय सम्म बिरामी पुनः परिक्षणका लागि आए संगै अस्पतालले नयाँ विकल्पको खोजि गरि बिरामीलाई सेवा दिन सुरु गरेको पौडेलले जनाकारी दिनु भयो ।
अस्पतालका मेडीकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । अहिले ज्वरोका बिरामीमा डेंङ्गु र ईन्फुलुन्जा देखिएको छ । क्लिनिकमा रहेका स्वास्थ्य कर्मीले डेङ्गु देखिएमा तत्काल रगतको परिक्षण र ईन्फुलुन्जा देखिएमा थुकको परिक्षण गरि उपचार गर्न सुरु गरेको उहाँले जानकारी दिनु भयो । जसवाट छिटो र छरितो रुपमा बिरामीको उपचार गर्न सकिने उहाँको भनाई छ । वहिरंगको मेडीकल विभागमा आउने बिरामीलाई परिक्षण गर्न पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् ।
जिल्लामा डेङ्गुका बिरामीको संख्या वढ्दै गएको छ । सोमवार साँझ सम्म ३ हजार ९ सय ९५ जनाको रगतको नमुना परिक्षण गर्दा १ हजार ३ सय १६ जनामा डेङ्गुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनु भयो । डेङ्गुकै कारण जिल्लामा दुईजनाको मृत्यु भई सकेको छ ।
जिल्लाका दुई मेडीकल कलेज र अन्य २० भन्दा वढि साना अस्पतालहरुमा पनि ज्वरोका बिरामीको संख्या वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस !