
चितवनः नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न सुरु गरेका छन् । संगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख ई. रोहित कुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी संञ्चालनमा आएका हुन । ती पुलमा रंग रोगन, साईन पोष्ट लगाएतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र वाँकी रहेको उहाँले जानकारी दिनु भयो । निर्माणको चरण सकिएकाले सवारी साधनहरु गुड्न थालेका उहाँको भनाई छ ।
औपचारीक रुपमा पुल सम्पन्न हुन र उद्घाटन हुन भने केहि समय लाग्ने वसुरालले जानकारी दिनु भयो । सवारी साधनले ती स्थानहरुमा दुवै पुल प्रयोगमा ल्याएका छन् । ती पुल लामा कन्स्ट्रक्सनले निर्माण गरेको हो । संगै सोहि सडकको जलविरेमा रौताहा कन्स्ट्रक्सनले निर्माण थालेको पुल भने ३५ प्रतिशत मात्र सम्पन्न भएको छ ।
विसुरालका अनुसार सो पुलको पहिरो लगाएतका कारण काममा कठिनाई भएकाले आउँदो डिसेम्वर सम्म समय थप गरिएको छ । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ, फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भएको हो ।
जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर रहेको छ ।
जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ । सो सडक खण्डमा अझै १५ पुल निर्माण गर्नु पर्ने हुन्छ । ती पुल निर्माणका लागि प्रकृया अघि वढिरहेको विसुरालले जानकारी दिनु भयो । ती पुल २०७४ साल कात्तीकमा २२ महिना भित्र सम्पन्न गर्ने गरि ठेक्का लगाईएको थियो । सो सडक खण्डको गत वर्ष विस्तारको काम सम्पन्न भएको हो ।
सडक ११ मिटर सम्म फराकिलो वनाईएको भए पनि पुल ६ मिटर मात्र चौडा रहेकाले सवै पुल नयाँ निर्माण गर्नु पर्ने भएको हो । पहिलो चरणमा चारवटा पुल निर्माणको ठेक्का लगाईएको थियो । वाँकी पुल डिजाईन सहित ठेकेदारले वनाउने गरि ठेक्का दिईदै छ । सो सडक हुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गर्दछन् ।
राजधानि प्रवेश र वाहिरीने यो मुख्य सडक हो ।