चितवनः जिल्लामा गएको ४१ दिनमा ३ सय ४६ जनामा डेंगुको संक्रमण देखिएको छ । यसै विचमा एक जनाको मृत्यु समेत भएको छ । दिनहुँ संख्या थपिदै गए पछि महामारीको रुप लिने आशंका गरिएको छ । यस वाट वच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन महिना सुरु भए पछि १ हजार १ सय ५३ जनाको नमुना परिक्षण गरिएकोमा सो संख्यामा संक्रमण भेटिएका हुन । जिल्लाका ९ वटा अस्पतालहरुमा डेंगुको परिक्षण हुँदै आएको छ ।

भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज, नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटि अस्पताल, पुस्पाञ्जली अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेंगुको परिक्षण हुँदै आएको छ ।

यी अस्पतालमा आएका ज्वरोका विरामीहरुवाट लिईएको नमुनामा ती संख्यामा डेंगुको संक्रमण देखिएको हो । जिल्लामा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा ३ हजार २ सय ९८ जनाको डेंगु परिक्षण गरिएकोमा ७ सय ३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ३ सय ७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । २ हजार २ सय ६१ जनाको परिक्षण गरिएकोमा सो संख्यामा डेंगु देखिएको होे । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा २ हजार ५ सय ६२ जनामा परिक्षण गर्दा ६ सय ८७ जनामा डेंगु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।

त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा १ सय १९ , ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेंगु देखिएको थियो भने गत आर्थिक वर्षमा १ हजार ९ सय ५१ जनाको डेंगु परिक्षणमा ३१ जनामा देखिएको थियो ।

तथ्याङ्कलाई हेर्नेहो भने हरेक तीन तीन वर्षमा डेंगुको संक्रमण फैलीएर महामारीको रुप लिएको देख्न सकिन्छ । डेंगु रोग सरुवा रोग हो । जुन डेंगुको विषाणु भाइरस द्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईवाट लाग्ने गर्दछ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा वढि संख्यामा पाईने गरेको े छ । डव्वाहरु, एयर कन्डिसन, एयर कुलर, ड्रमहरु, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फुल पार्ने गर्दछ ।

डेंगुको संक्रमणको मुख्य लक्ष्यण ज्वरो आउने रहेको भन्दै उहाँले संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक साता सम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा विमिरा आउने जस्ता लक्ष्यण देखा पर्ने गरेका छन् ।

यसैगरि वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजावाट रगत वग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, वेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनु भयो । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाईवाट वच्नुनै यस रोगको वचावटको मुख्य उपाय भएको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !