
चितवन: जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जना भन्दा वढी मानिस एक ठाउँमा जम्मा भएर वस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागु हुने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट अशान्ति हुन सक्ने देखिएको’ उल्लेख छ । जस कारण पाँच जना भन्दा वढि एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारिए गरेको हो ।
आदेशमा भनिएको छ “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।”
जस अनुसार वाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।
यसैगरी, वाईपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, वाईपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालचोक सम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको हो ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रर्दशनकारी र प्रहरी बीच झडप हुँदा आइतबार साँझ केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एक नारायण कोईराला सहित ११ जना प्रहरी घाईते भएका थिए । सो क्रममा १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामिछाने र युवराज कडेंलको आज चितवन जिल्ला अदालतमा वयान हुदैछ ।
साउन २० गते पुडासैनीले भिडियोमा कारण रेकड गरेर आत्महत्या गरेका थिए । सोहि भिडियोको आधारमा लामिछाने सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।