चितवनः जिल्लामा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका वडा नम्वर २ गंगोत्री मार्ग निवासी ७१ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिईएको छ । वृद्धको साउन ३१ गते चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायीक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसके पछि चितवन मेडीकल कलेजमा पठाईएको थियो । सोहि मेडीकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिनु भयो ।
जिल्लामा केहिदिन यता डेंगुको संक्रमण वढ्दो रहेको छ । उहाँका अनुसार सउन यता भदौ ६ गते सम्म जिल्लामा ५ सय ६७ जनाको परिक्षण गरिएकोमा २ सय २५ जनामा डेंगुको संक्रमण भेटिएको छ । ती मध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाको रहेको उहाँले जानकारी दिनु भयो ।
डेंगु नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरि जनचेतनामुलक कार्यक्रमहरुलाई तिव्र पारिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !