
चितवनः जिल्ला प्रशासन कार्यालय चितवनमा सर्वदलिय वैठक बस्दै छ । ईलाका प्रहरी कार्यालय रत्ननगरमा चोरीको अभियोगमा पक्राउ परेका एक थुनुवाले आत्महत्याको प्रयास गरे पछि उत्पन्न स्थितीलाई मध्यनजर गर्दै सर्बदलिय वैठक बस्न लागेको हो ।
चोरीको अभियोगमा बैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुरका २४ वर्षिय समिर घिसिङ्ले २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शैचालयमानै आत्महत्याको प्रयास गरेका थिए । घिसिंङ्ले आत्महत्याको प्रयास गरे संगै प्रहरीको कम्जोरीका कारण घटना भएको भन्दै बिहिबार राति आफन्त र स्थानीयले ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका छन् ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले साँझ ७१ राउण् हवाई फायर गर्नुका साथै ३० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । सोहि घटनालाई लिएर प्रहरीले २५ वटा मोटरसाईकल र ३७ जनालाई नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दयानिधि ज्ञवालीका अनुसार अन्य थुनुवाले देखे पछि उनको तत्काल उद्धार गरि अस्पताल पठाईएको थियो । हाल घिसिंङ्को पुरानो मेडीकल कलेजमा गम्भिर अबस्थामा उपचार भईरहेको छ । घटना लगत्तै प्रहरीले थुनुवा घिसिङ्लाई आत्महत्या गर्न वाध्य पारेको भन्दै आफन्त र स्थानीय ईलाका प्रहरी कार्यालय घेराउ गर्न आएका थिए । उनीहरुले सो क्रममा कार्यालयको झ्यालका सिसा तोडफोड गरेको र सडकमा टायर वालेर बाटो अवरुद्ध गर्ने प्रयास गरेको उहाँले बताउनु भयो ।
सो कार्य नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरि उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यस लगत्तै केहीले अस्थाई प्रहरी चौकी पदमपुरमा समेत तोडफोड गरेको ज्ञवालीले वताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।