चितवन ३१ असार ः भरतपुर महानगरपालिका–१ वागीश्वरी स्थित योगिनरहरिनाथ आश्रमममा सञ्चालन भएको ‘श्रीशिवगोरक्ष–योगिनरहरिनाथ–साङ्ग–कोटिहोम–महायज्ञ २०८३’ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी महायज्ञ भव्य रूपमा सम्पन्न भएको जानकारी दिँदै आयव्ययको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार महायज्ञमा आम्दानीको तुलनामा खर्च बढी भई ९ लाख १७ हजार २ सय ६० रुपैयाँ न्यूनता (अपुग) देखिएको छ ।

सनातन संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रगुरु योगी नरहरिनाथको सङ्कल्पअनुसार आयोजना गरिएको महायज्ञ गत वैशाख १७ गतेदेखि सुरु भई असार १४ गतेसम्म सञ्चालन भएको थियो ।

महायज्ञका आर्थिक संयोजक रामप्रसाद ओस्तीका अनुसार कुल आम्दानीतर्फ रु १ करोड ३० लाख २ हजार ३ सय ६६ नगद संकलन भएको छ । यसका साथै जिन्सी सामग्रीका रूपमा चामल, पिठो, नुन, तेल, घिउ, तिल, चिनी लगायतका खाद्यान्न तथा पूजन सामग्रीहरू प्राप्त भएका छन् ।

यस्तै खर्चतर्फ विभिन्न ३३ वटा शीर्षकमा गरी जम्मा रु १ करोड ३९ लाख १९ हजार ६ सय २६ खर्च भएको छ । यसका अतिरिक्त रु ३० हजार लेखापरीक्षण शुल्क लाग्ने बताइएको छ । कुल खर्चमध्ये सबैभन्दा धेरै रकम दक्षिणातर्फ रु ५४ लाख ८४ हजार ५ सय १० खर्च भएको आर्थिक संयोजक ओस्तीले जानकारी दिनुभयो ।

श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगिनरहरिनाथ आश्रम तथा सनातन सांस्कृतिक सम्पदा संरक्षण सङ्घको संयुक्त आयोजनामा भएको महायज्ञमा अतिरुद्री, सहस्रचण्डी, पुराणवाचन, चारवेदपाठपरायण र धार्मिक–आध्यात्मिक कथा–प्रवचन लगायतका विविध अनुष्ठानहरू गरिएका थिए ।

यज्ञलाई पूर्ण रूपमा सात्विक, मर्यादित र विधिसम्मत बनाउन आयोजकले विशेष जोड दिएको थियो। समाजमा यज्ञ र दानको वास्तविक महत्त्व कायम राख्नका लागि कसैसँग पनि दान वा सहयोगका लागि करकाप वा विशेष अनुरोध नगरी केवल स्वेच्छिक सहभागिताका लागि मात्र आह्वान गरिएको थियो ।

पत्रकार सम्मेलनमा महायज्ञका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ जस्तो पवित्र कार्यमा नाफा वा घाटाको हिसाब नहुने प्रष्ट पार्नुभयो । “यज्ञमा नाफा–घाटा भन्ने कुरा हुँदैन, हामीले आर्थिक मितव्ययिता र पारदर्शिता कायम गर्न मात्र यो हिसाब सार्वजनिक गरेका हौँ ।” उहाँले भन्नुभयो, “हामीले कसैलाई पनि रसिद काटेर रकम उठाएका थिएनौँ । अहिले केही संस्थाहरूले सहयोग रकम दिने प्रतिबद्धता जनाउनुभएको छ, त्यो सायद प्राप्त हुने नै छ । जे भए पनि हामीले यति ठूलो यज्ञ सफलतापूर्वक सम्पन्न गर्न सक्यौँ, त्यो नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुरा हो ।”

महायज्ञलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण आयोजक संस्था, सह–आयोजक, आमा समूह, सत्संग समिति, मठमन्दिर, संघसंस्था तथा देश–विदेशका लाखौँ सनातन धर्मावलम्बी र भक्तजनहरूलाई संयोजक भारद्वाजले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यज्ञमा संकलन भएका जिन्सी सामग्रीहरूको व्यवस्थापन प्रधान संरक्षक गुरु योगी श्रीषनाथको आदेशअनुसार गरिने जानकारी दिँदै जिन्सी भण्डार (स्टोर) को चाबी गुरुलाई हस्तान्तरण समेत गर्नुभयो ।

–––

प्रतिक्रिया दिनुहोस !