चितवन । यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परिक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो ।
उहाँका अनुसार महमा पानीको आद्रता, फुक्टोज गुलकोज अनुपात, रिड्युसिङ सुगर, हाइड्रोअक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थ, शुक्रोजको मात्रा परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “परीक्षणको क्रममा हाइड्रोअक्सिमिथाइल फरफुरलको मात्र प्रतिकिलो १० देखि १५ एमजीसम्म रहेको पाइएको छ, प्रतिकिलो महमा ४० एमजीभन्दा माथि भएमा राम्रो मानिँदैन ।” प्रति किलो महमा ४० एमजीभन्दा माथि भएको महलाई प्रशोधन गरिएको तथा चर्को ताप दिइएको मानिन्छ ।
कतिपय उपभोक्तामा महको गुणस्तरीयताको विषयमा प्रश्न उठाउँदै भ्रम फैलाउन थालेपछि महको परीक्षण गरिएको अमगाइँले बताउनुभयो । परीक्षणका लागि कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मौरीपालक किसानले उत्पादन गरेको महको नमूना पठाइएको थियो ।
नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार ५०० मौरीका गोला रहेका छन् । नेपालमा वार्षिक चार हजार मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा ४३० मेट्रिक टन उत्पादन हुने गरेको छ ।






