चितवनः चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँड मध्ये सात वटाबाट अण्डा संकलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा संकलन गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गँुड पहिचान गरी ती मध्ये सात वटा गुँडबाट अण्डा संकलन गरिएको हो । सातवटा गुँडमा रहेका २३२ वटा अण्डा संकलन गरी गोही प्रजनन् केन्द्रमा ल्याईएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो ।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा संकलन सुरु गरिएको थियो । गत वर्ष २४७ वटा अण्डा संकलन गरी कोरलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गोहीको प्राकृतिक रुपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा संकलन गरेर गोही प्रजनन् केन्द्रमा ल्याउने गरिन्छ ।”

गोहीको अण्डाबाट प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा संकलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रुपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारबाट हानी नोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा संकलन गर्ने गरिएको उहाँले बताउनुभयो । अण्डा संकलनका लागि निकुञ्जका ६ जना कर्मचारीहरु सहभागी भएका थिए ।

निकुञ्जले गोही प्रजनन् केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ हुर्किका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको छ । कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खनन लगायतका मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस !