चितवनः जिल्लामा रहेका एचआईभी संक्रमितहरुमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एच आईभी संक्रमित भएकाहरुको परिक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउण्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरी सापकोटाका अनुसार यस वर्षको जनवरी यता ५४४ जना संक्रमितहरुको परिक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको संक्रमण देखिएको हो । उहाँले भन्नुभयो “अहिलेको समस्या भनेको एचआईभी संक्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण संक्रमितहरुमा भिरिङ्गी रोगको संक्रमण समेत देखिएको हो । संक्रमित संबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
सापकोटाका अनुसार परिक्षण गरिएका मध्ये १५ जनामा एचआईभी एड्स संगै क्षयरोग समेत देखिएको थियो । उनीहरुलाई अहिले नियमित औषधि सेवन गराईएको उहाँले जानकारी दिनुभयो । क्षयरोग देखिनुमा मुख्य समस्या संक्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्याधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिदैं आईएको उहाँले बताउनुभयो ।
फाउण्डेसनको सहयोगमा भरतपुर अस्पतालमा संञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापि क्लिनिकका संयोजक समेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल १ हजार २१३ जना संक्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरु मध्ये ५९२ जना पुरुष, ५६८ जना महिला, ३३ जना बालबालिका र २० जना तेस्रो लिङ्गी रहेका छन् । सन् २०२४ मा जिल्लाको बिभिन्न स्थानमा गरिएको एचआईभी परिक्षणमा ७५ जना नयाँ संक्रमित भेटिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “सन् २०२४ यता ३९६ जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी १५१ जना नयाँ संक्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेबन गर्ने मध्ये ३० जना स्थानान्तरण भएर गएको उहाँले बताउनुभयो । १२ जना संक्रमितले नियमित औषधि सेवन गर्न छोडेको सापकोटाले जानकारी दिनुभयो ।





