चितवनः नेपाल नेत्रज्योती संघ चितवनद्धारा संञ्चालित भरतपुर आँखा अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा बिकास गर्न आबश्यक रहेको बताईएको छ । नेपाल नेत्रज्योती संघ चितवनको २४ औं बार्षिक साधारण सभामा बोल्दै संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले सबै दृष्ट्रिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा बिकास गर्न उपयुक्त हुने बताउनु भएको हो ।
यहाँ दुईवटा मेडीकल कलेज, एउटा क्यान्सर अस्पताल, संघीय अस्पताल रहेको हुँदा यो मेडीकल सिटिको रुपमा बिकास भईरहेको उहाँको भनाई थियो । अध्यक्ष पन्तले पबित्र तिर्थस्थल देवघाटमा जेष्ठ नागरिकहरु आउने र सौराहामा पर्यटक आउने भन्दै र देशकै मध्यभागमा पर्ने भएकाले यस अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा बिकास गर्नु आजको आबश्यकता रहेको बताउनुभयो । यस अस्पतालमा आउने बिरामीको चाप भनेको यस माताहतमा रहेका उपचार केन्द्रहरुले समुदायमा खेलेको सक्रिय भूमिकानै रहेको उहाँको भनाई थियो । अस्पतालमा आएका बिरामीहरुले पैसाको अभावमा उपचार नपाएर फर्कनु पर्ने अबस्था आउन नदिन नेत्रज्योती संघ लागि परेको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले भन्नुभयो “अनतर्राष्ट्रिय स्तरको सेवा दिने गरी अघि वढ्नु पर्छ ।”
कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान डीन डा. आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योती संघ संगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर तीन स्थानमा कार्यक्रमहरु संञ्चालन गर्दै आएको जानकारी दिनुभयो । बिराटनगर, भैरहवा र चितवनमा कार्यक्रम संञ्चालन हुँदै आएको भन्दै उहाँले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान सके आँखामा हुने समस्या समाधानका लागि सहयोग पुग्ने बताउनुभयो । ढुङ्गानाले भन्नुभयो “हामी सहकार्य गर्न तयार छौ । उच्च स्तरीय सेवा दिनुस् ।”
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योती संघ नवलपुरका सभापति होमनाथ जैशी, संघकी सदस्य मिना खरेल लगाएतले संघले अहिले सम्म समाज प्रति खेलेको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संघका सचिब केशवप्रसाद अधिकारीले बार्षिक प्रतिवेदन पेश गर्दै संघद्धारा सञ्चालित अस्पताल र उपचार केन्द्रहरुबाट गत एक वर्षमा ३ लाख ४९ हजार ५४६ जनाको आँखाको उपचार गरेको जानकारी दिनुभयो । ती बिरामी मध्ये ११ हजार २५७ जनाको शल्यक्रिया गरिएको सो अबसरमा जानकारी दिईयो । संघका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिब अधिकारी र कोषाध्यक्षको प्रतिवेदन सर्बसहमतले पारित गरिको थियो। कोषाध्यक्ष सिदार्थलाल चुकेले प्रस्तुत गर्नुभएको थियो ।





