चितवन: जिल्लाको संघीय अस्पताल भरतपुर अस्पतालमा दिनहुँ बिरामीको चाप उस्तै छ । चितवनसहित छिमेकी २२ जिल्लाबाट आउने बिरामीसँगै नियमित खोप लगाउन आउने बिरामीको पनि अस्पतालमा उत्तिकै भिड हुने गरेको छ । हाल यस अस्पतालमा रेविज बिरुद्धको खोपको चरम अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
भरतपुर महानगरपालिका–१२ थानीचोकका बिनोद लामा आइतबार दिउँसो ११ बर्षिय छोरीलाई कुकुरले टोकेर रेविज बिरुद्धको खोप लगाउन अस्पताल आउनुभयो । अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोपको अभाव भएको जानकारी गराए पछि निरास हुँदै उहाँ छोरीलाई लिएर बाहिर निस्कनु भयो । उहाँले भन्नुभयो “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहाँले थप्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महंगो पर्छ रे पाउने ठाउँ पनि थाहा छैन ।”
आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङ्लाई कुकुरले टोक्यो । उहाँले त्यही एक डोज खोप लगाउनुभयो । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उहाँले खोप लगाउन पानुभएन । उहाँलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन र उहाँसँगै आएका अन्य बिरामीहरुले समेत भनेपछि बल्ल विश्वास गर्नुभयो । उहाँले भन्नुभयो “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”
भरतपुर महानगरपालिका – ६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज बिरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौं ।” एक भाइललाई बाहिर किन्दा रु ६२५ तिर्नु पर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु ३ सय पर्ने गरेको भन्दै उहाँले रेविज बिरुद्धको खोप अभावले सेवाग्राही महंगोमा परेको बताउनुहुन्छ ।
यी त भरतपुर अस्पतालमा रेविज बिरुद्धको खोप लगाउन आउने सेवा ग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन । यस्तै गुनासो लिएर गत चैत २० गते देखि अस्पतालबाट बाहिरने बिरामीको संख्या उत्तिकै छ । अहिले दैनिक दुई सय भन्दा बढी बिरामीहरु रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् ।
अस्पतालका प्रबक्ता डा. रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । उहाँले भन्नुभयो “अभाव चैत २० गते देखि सुरु भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी सुन्य स्टकमा छौं ।” अस्पतालले बारम्बार प्रदेश र संघीय मनत्रालयका आपूर्ती व्यवस्थापन शाखामा पत्राचार गर्दा समेत प्रयाप्त मात्रामा खोप पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप वढेसंगै खोपको अभाव भएको हो । सापकोटाका अनुसार यहाँ अहिले चितवन सहित, नवलपुर, धादिङ् गोरखा, तनहुँ, मकवानपुर सहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामीहरु आउने गरेका छन् । अस्पतालले आपूर्ती शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रबक्ता सापकोटाले बताउनुभयो । उहाँले थप्नुभयो, ”बिरामीहरुलाई हामिले दिने जवाफ केही छैन ।”
अस्पतालका स्टोर शाखा प्रमुख प्रदिप अधिकारीले केही समय आँफुहरुले मागेको भन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठीन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्म ८० भाइल पायौं । यस्तै संघमा पनि पठाउँदा २५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन समेत कठिन भएको उहाँको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस !