चितवनः नेपालमा रहेका एम्बुलेन्स मध्ये ९० प्रतिशत एम्बुलेन्स नविकरण हुन सकेका छैनन् । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशीका २०७८ अनुसार स्तरोन्नती हुन नसकेपछि एम्बुलेन्सहरु नविकरण हुन नसकेका हुन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशका २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुनसकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन महासंघ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका छन् । नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको छ । योसँगै हाल सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेको लामिछानेले बताउनुभयो । विगत दुई वर्षदेखि ती एम्बुलेन्स नवीकरण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सहरुको स्तरोन्नती नगरी नविकरण गर्न नपाईने निर्देशिकामा उल्लेख छ । उहाँले भन्नुभयो “एम्बुलेन्सको स्तरोन्नतीका लागि ठाउँको अभाव हुँदा कतिपयले रंग मात्रै परिवर्तन गरेर काम गरिरहेका छन् ।” निर्देशीकामानै परिवर्तन नगरेसम्म समस्या समाधान नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “नविकरण नहुँदा बीमामा समेत समस्या भएको छ । दुर्घटना हुँदा झन ठूलो समसया हुने गरेको छ ।”
दुर्घटनाका लागि केही सहजताका होस् भनेर बीमा गरिएको भए पनि त्यतीले मात्रै समस्या समाधान नहुने उहाँको भनाई छ । निर्देशीका संशोधनका लागि आफुहरुले संघीय स्वास्थ्य मन्त्रालयमा पटक पटक मागहरु राखेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “केही दिन अघि मात्रै स्वास्थ्य मान्त्रालयमा १२ बुँदे माग राखेका छौ ।” स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स चालकहरुको समस्या समाधान गरिदिनुपर्ने उहाँले बताउनुभयो । आफुहरुले पटक पटक ज्ञापनपत्र बुझाएको भए पनि अहिले सम्म मागहरु सम्बोधन हुन नसकेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “सबैकुरा बुझायो, सरकार परिवर्तन हुन्छ, फेरी शुरुबाट काम गर्नुपर्छ ।”
सरकारले जारी गरेको निर्देशीकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो निर्देशीकाले एम्बुलेन्स सञ्चालनमा सिण्डीकेट लागू गरेको छ ।” नयाँ आएका एम्बुलेन्सहरुलाई स्तरोन्नती गरेर सञ्चालन गर्नु पर्ने र पुराना एम्बुलेन्सहरुलाई यसै सञ्चालन गर्न दिनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस !