चितवनः भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णय अनुसार दीर्घरोगीहरुलाई एकै पटक तीन महिनाको औषधि दिन शुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेहरुलाई तीन महिनाको औषधि एकै पटक दिने व्यवस्था गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्र अनुसार बीमा कार्यक्रम मार्फत् सेवा लिनेहरुलाई विगतमा एक महिनाको औषधि दिने गरिएकोमा पुस ४ गतेदेखि आवश्यकता अनुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाईएको बताउनुभयो ।
उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, हाईपरटेन्सन, थाईराईड जस्ता दीर्घ रोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यस अघि एक पटकमा एक महिनाको लागि चिकित्सकले औषधि दिंदै आईएकोमा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।
नियमित औषधि सेवन गर्नेहरुले बहिरंग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधि खरिद गर्न पाउने गर्दछन् । यसले अत्याधिक भिड हुने गुनासो आएको थियो । स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ । अस्पतालमा बिरामीको चाप अत्याधिक भएका कारण बीमाबाट नियमित औषधी लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा. तिवारीले बताउनुभयो ।
रिफिल काउन्टर बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने मेसु तिवारीले जानकारी दिनुभयो । यसबाट धेरै बिरामी बीमाबाट औषधी लिनकै लागि भिडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । अस्पतालले एक पटक रेफर भई आएको सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने जानकारी गराएको छ । यस अघि पुनः परीक्षणका लागि आउँदा रेफर लिएर आउनु पर्ने व्यवस्था थियो ।
भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरंग सेवामा आउने गर्दछन् । ती मध्ये ७० प्रतिशत स्वास्थ्य बीमा मार्फत् उपचार गराउने हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !