चितवनः स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेबाट १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।
बोर्डका अध्यक्ष डा.गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालहरुमा कोपेमेन्ट लागू गरिंदै छ । सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरुमा यो व्यवस्था लागू हुनेछ । लोहनीले भन्नुभयो “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आएको थियो ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताहरुले आवश्यक नपर्दा समेत विभिन्न परीक्षणका लागि चिकित्सकहरुलाई दवाव दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दवाव कम हुने अपेक्षा समेत गरिएको छ । कोपेमेन्ट लागूभएसँगै आवश्यकता अनुसार थप निजी अस्पतालहरुलाई समेत बीमामा समावेश गरिंदै छ । उहाँले भन्नुभयो “थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छाै ।”
अस्पतालहरुमा एक महिनाको लागि मात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भिड हुने गरेको छ । बिरामीले समेत दुःख पाउने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता रोगको नियमित खानुपर्ने त्यस्ता औषधि तीन महिनाका लागि एकै पटक दिने व्यवस्था गरिएको डा.लोहनीले जानकारी दिनुभयो ।
माघ १ गतेबाट यो व्यवस्था लागू हुनेछ । हाल अस्पतालहरुले बीमाको सेवा दिएर पनि महिनौं भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन् । डा. लोहनीले बीमाको रकम दावी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताउनुभयो । उहाँले भन्नुभयो “सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ ।”
उहाँका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् । बि.सं. २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस !