चितवनः भरतपुर महानगरपालिकाले समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट बन्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।“
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष बिष्णु महतो, महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, महानगरका स्वास्थ्य विज्ञ सल्लाहाकार डा. भोजराज अधिकारी लगायतले बोल्नुभएको थियो । यस कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाका जेष्ठ नागरिक, अशक्त, अपाङ्गहरुको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । महानगर भित्र रहेका ६८ वर्ष माथिका करिब २५ हजार जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर मधुमेह, उच्चरक्तचाप, उचाई र तौल लिईने छ ।
पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागू गरिने भरतपुर महानगर जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १५ वडामा दोस्रो चरणमा कार्यक्रमहरु सञ्चालन गरिने छ । पहिलो र दोस्रो चरणमा २५÷२५ दिन स्वास्थ्यकर्मीहरु जनताको घर दैलोमा पुग्ने छन् । यस क्रममा आएका जनताका समस्याहरुलाई समाधानका लागि शिविर मार्फत स्वास्थ्य समस्या समाधान गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा एक सय जना स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा घरघर सामान्य औषधि समेत लिएर जानेछन् । नसर्ने रोगको विषयमा बढी ध्यान दिईने छ ।
अहिले करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताउनुभयो । महानगर भित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० वटा स्वस्थ्य उपचार केन्द्रहरु रहेका छन् । वडा नम्वर २४ का वडा अध्यक्ष रामवहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घर घर जाने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य परीक्षणका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षिय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।





