चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले माडीको बघौंडा अस्पताललाई प्रादेशिक स्वरुपमा लैजाने पहल भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस माडी नगर समितिले कणर्बहादुर घर्ती स्मृति प्रतिष्ठान, माडी–६, रामराज्यपुरमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रमा बोल्दै मन्त्री जोशीले सो कुरा बताउनुभएको हो ।
बघौंडा अस्पतालको अन्तरङ्ग विभागको नवनिर्मित भवन समुद्घाटनका लागि माडी आउनुभएका उहाँले मन्तव्यका क्रममा सो अस्पताल प्रादेशिक तहको हुन नसके बैंकल्पिक रुपमा कुनै रोगविशेष अस्पताल बनाउन सकिने समेत बताउनुभयो । यसबाहेक उहाँले लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा रहेको सबै बालबालिकाहरुको स्वास्थ्य वीमा गरी स्वास्थ्य सेवामा पहुँच बिस्तार गर्ने तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई बार्षिक थप प्रोत्साहन रकमको व्यवस्था गर्ने जनाउनुभयो ।
नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालको अध्यक्षमा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले मन्त्री जोशीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पार्टीका तर्फबाट स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !