चितवनः भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु.१४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु.२० करोड लागत अनुमान गरिएको भवन रु.१४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताउनुभयो ।
उहाँले भरतपुर आँखा अस्पतालको रु.६ करोड, नेत्रज्योति संघको रु. एक करोड र अन्य रकम दाताहरुबाट चन्दा संकलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “पहिला लागत अनुमानमा मोडल ओटी (आधुनिक शल्यक्रिया कक्ष) थिएन, पछि थप ग¥यौं ।” मोडल ओटी निर्माण गर्दा थप रु.२ करोड खर्च भएको उहाँले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडि (बहिरंग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ ।
अस्पताललाई चाहिने उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौं, ती सामग्री छिट्टै आउँदैछन् ।” ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उहाँको भनाई छ । तिहार लगत्तै नयाँ भवनबाट सेवा शुरु हुने उहाँले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा शुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उहाँको भनाई छ ।
बि.सं. २०४४ साल चैत्र १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो । मुख्य अस्पताल भरतपुर महानगरपालिका वडा नं. १० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसकाट अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यस बाहेक तीन वटा सेकेण्डरी अस्पताल र १३ वटा आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।
श्रेष्ठका अनुसार अस्पतालमा आएका बिरामी र शिविरहरु मार्फत् बिरामीलाई सेवा दिंदै आएको छ । यो अस्पतालले चितवन सहित छिमेकी विभिन्न जिल्लाहरुमा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविर मार्फत् सेवा दिंदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिंदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।





