चितवनः राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौता सकिदाँ ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । वि. सं. २०७८ साल असार २२ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएर निर्माणको काम सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा काममा भने प्रगति नभएको हो ।
नगरपालिकासंगै जोडीएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौंले रु १० करोड ४२ लाख ४३ हजार ४९० मा ठेक्का सम्झौता गरेको भए पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिनुभयो । लामाका अनुसार मत्स्य बिकास केन्द्रको नाममा रहेको १ विगाह १० कठ्ठा जग्गामा नगर अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश सरकारको मन्त्री परिषद वैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिईएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको हो ।
अस्पताल नर्मिाणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको लामाले जानकारी दिनुभयो । अस्पताल निर्माण सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा बिभिन्न वाहना देखाउने गरेको भन्दै उहाँले पछिल्लो समयमा सम्पर्कमा आएको बताउनुभयो । उहाँले भन्नुभयो “ठेक्का सम्झौताको समय सकिएको भए पनि पुनः समय थप गरि निर्माण सम्पन गर्न नगरपालिका लागि परेको छ ।”

प्रतिक्रिया दिनुहोस !