चितवनः वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनु भएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिंदा महिनौं पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनु भएको हो ।
रेडियो थेरापी (सेकाई) गराउनु पर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासोहरु आउने गरेका छन् । पौडेलले भन्नुभयो “अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नुहोस् म यसलाई न्यूनिकरण गर्नेछु ।” अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताउनुभयो ।
अस्पतालमा सिटी, एमआरआई लगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाई हुने गरेको भन्दै उहाँले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाईने बताउनुभयो । उहाँले भन्नुभयो “आएकै दिन सिटीस्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।”
बिरामी अस्पतालमा छिर्दै गर्दा गेटैबाट सुधार गर्नुपर्छ भनेर बडापत्रहरु, बिरामीलाई सूचना दिन सूचना पार्टीहरु, बिरामीका गुनासा सुन्न ६ वटा सुझाव पेटिकाहरु व्यवस्था गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सुझाव पेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौं ।”
विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदैगर्दा विधिवत रुपमा दैनिक क्रियाकलापमा केही अप्ठ्यारा परेको भन्दै उहाँले नेतृत्व चयन भएसँगै औषधि, उपकरण लगायतका बोलपत्र आव्हान गरेर काम अगाडि बढाईएको जानकारी दिनुभयो ।
क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको भन्दै उहाँले भन्नुभयो “शुरुमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्य सेवाका पाटाहरुलाई विशेष ग्राह्यता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भईसकेपछि अस्पताललाई स्तरोन्नती गर्ने तर्फ म लाग्ने छु ।”
एशियाकै ठूलो क्यान्सर अस्पताल र क्यान्सरको राष्ट्रिय रेफरल सेन्टर भएर पनि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) को सेवा यहाँ नभएको भन्दै कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो “हामीले डेढ दुई वर्षभित्र यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने गरी काम गर्छाै ।”
पेट स्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उहाँको भनाई छ । उहाँले थप्नुभयो “यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने नै मेरो उद्देश्य हो ।” आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उहाँले बताउनुभयो । चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो । लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवाहरु प्रभावित भएका थिए ।





