चितवन: भरतपुर अस्पतालमा १०५ वर्षिय बृद्धाको सफल शल्यक्रिया मार्फत सफल जोर्नी प्रत्यारोपण गरिएको छ । पुठाको हड्डी भाँचियर अस्पताल आउनु भएका गोरखाकी गंगा गुरुङको सफल जोर्नी प्रत्यारोपण गरिएको हो ।
अस्पतालका जोर्नी प्रत्यारोपण बिशेषज्ञ डा. मनोज कँडेलका अनुसार भदौ ५ गते उहाँको जोर्नी प्रत्यारोपण गरिएको हो । ३ गते अस्पताल भर्ना हुनु भएकी उहाँको स्वास्थ्य अबस्था सामान्य रहेको कँडेलले बताउनुभयो । एनेस्थेसिया र शल्यक्रियाको हिसाबले चुनौतिपूर्ण रहेको सो शल्यक्रिया सफल भएको हो । बिरामीको पुठाको गेढी परिवर्तन गरिएको छ । उहाँलाई अहिले अस्पतालको हाडजोर्नी बिभागमा उपचार भईरहेको छ । कँडेलले भन्नुभयो “उहाँ हिड्न थाल्नु भएको छ । बिस्तारै निको हुने बिश्वास हामीले लिएका छौ ।” सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना हो ।





