चितवनः भरतपुर अस्पतालमा साउन महिनामा मात्र ११७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवन सहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीहरुले सेवा लिएका हुन ।
उपचारमा आएका मध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचार पछि घर फर्काईएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँ लगाएतका जिल्लाबाट सर्पदंशका बिरामीहरु भरतपुर अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सर्पदंशका बिरामी मध्य एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकाहरुलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उहाँले भन्नुभयो “गत आर्थिक वर्षमा २२ जनालाई एन्टिस्नेक भेनम दिईएको थियो ।” यस्तै सोही समयमा ७१ जना बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
सर्पदंशका बिरामीहरु बढि संख्यामा वर्षातको समयमा आउने गरेको चिकित्सकहरुले वताएका छन् । बरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार खेती पाती लगाउने समयमा सर्पदंशको समस्या वढि हुने गर्दछ । बिशालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कम्जोरी महशुश हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्ष्यण देखिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ ।” रुखहरुमा पाईने हरियो सर्पले टोक्दा रक्तश्राप बढि हुने, सुनिने जस्ता लक्ष्यण देखिने गरेको उहाँले जानकारी दिनुभयो ।
सर्पले टोकेमा दौडीन, हिड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार बिस्तारै होस भनेर वाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उहाँले बताउनुभयो । १३ वर्ष अघि सर्पदंशका कारण श्रीमती गुमाएका भरतपुर महानगरपालिका वडा नम्बर ८ का धर्म कार्कीले पछिल्ला वर्षहरुमा सर्पदंशका कारण मृत्यु हुनेको संख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्ता घटना जसलाई पर्छ उसको परिवारले ठूलो पिडा भोग्नु पर्दो रहेछ । मेरो परिवारले जस्तो अरुले भोग्नु नपरोस् ।” वर्षातको समयमा सरकारी तवरबाट व्यापक रुपमा जनचेतना जगाएर सर्पदंशका घटनामा कमी ल्याउनु पर्ने उहाँले सुझाब दिनुभयो ।





