चितवन: यहाँका नर्सिङ कलेजहरु बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रमहरु अघि बढाएका हुन् ।

विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेजहरु राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ऐनका कारण देशभर २२८ शिक्षण संस्था बन्द भएको जनाएको छ । जसमध्ये चितवनका नौ वटा नर्सिङ क्याम्पस बन्द भएका छन् ।

हाल देशभरका सिटिईभिटी अन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा, स्टाफ नर्स ७७ वटा र विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बिएन १० एवं बिएस्सी नर्सिङ ८ वटा कार्यक्रम बन्द भएका छन् ।

समितिका संयोजक शम्भु सुवेदीले कलेज बन्द हुँदा विद्यार्थीहरु देश छोडेर विदेश जान बाध्य भएको बताउनुभयो । ऐनले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रमहरुमा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराईएको उहाँको भनाई छ । ऐनसँग सिटिईभिटी र विश्वविद्यालयका कार्यक्रम एउटै क्याम्पसमा सञ्चालन गर्न पाईदैन । यी कार्यक्रम सञ्चालनका लागि कम्तीमा एक सय शैयाको अस्पताल आवश्यक हुन्छ । यस अघि ५० शैयाको अस्पतालमा कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

एक सय शैयाभन्दा माथि भएका अस्पतालहरुले पनि प्रमाणपत्र तह वा स्नातक तहमध्ये एउटा मात्रै पढाउन पाउने व्यवस्था छ । स्वास्थ्य संकाय सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था पनि छ । यस अघि अन्य अस्पतालमा प्रयोगात्मक कक्षा गराएर पढाई हुँदै आएको धेरै क्याम्पस रहेका छन् । सुवेदीले एक सय शैयाको अस्पताल सञ्चालन गर्न रु.२ अर्ब लगानी हुने र तोके अनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो ।

उनीहरुले चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटिईभिटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नु पर्ने माग राखेका छन् । यस्तै आयोग र सिटिईभिटीका कारणले बन्द भएका कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा खोसिएका रोजगारीको सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यस अघि विभिन्न खालका बौद्धिक हिसाबका संघर्षका कार्यक्रम गर्दै आएका सञ्चालकहरुले अब सार्वजनिक विरोधका कार्यक्रम गर्ने जनाएका छन् । पत्रकारहरुले सोधेका प्रश्नमा फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका केन्द्रीय सल्लाहकारनारायणसिंह कुँवर, मैयादेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेल, मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा.केशव भूर्तेल, बोस्टन कलेजका सञ्चालक मनोज बिष्ट, बालकुमारी क्याम्पसका अनन्त ढुंगाना लगायतले जवाफ दिनुभएको थियो ।

सो क्रममा उहाँहरुले क्याम्पसहरु बन्द हुँदा नर्सिङ जनशक्ति अभाव हुँदै गएको, भारतमा सीमा क्षेत्रमा नर्सिङ क्याम्पस सञ्चालनमा आएका, नेपालको धेरै रकम बाहिरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । यसैगरी हालसम्म नेपालमा अध्ययन गरेका नर्सहरुमध्ये धेरैले विश्वका धनी राष्ट्रहरुमा राम्रो पारिश्रमिक पाएर रोजगार बनेको उहाँहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !