चितवनः जिल्लामा डेंगु रोगका कारण चार जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा उनीहरुको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा भेटिएका २ हजार ३०६ जना संक्रमित मध्ये उनीहरुको मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारमा आएका बिरामी मध्ये १४ हजार ७२८ जनाको परीक्षण गरिएकोमा ३ हजार ३२४ जनामा डेंगुको संक्रमण देखिएको थियो । चितवन बाहिरका ६९५ जना र ठेगाना नखुलेका ३२३ जना बिरामीमा डेंगुको संक्रमित भएका थिए ।
जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुको संक्रमण देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकामा १ हजार ६४६ जना, रत्ननगर नगरपालिकाका २६५ जना, खैरहनी नगरपालिकामा १८४ जना संक्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा १ सय जना, कालिका नगरपालिकामा ५५ जना, माडी नगरपालिकामा ४० जना र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेंगुको संक्रमण देखिएको केसीले बताउनुभयो ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।
यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तैः गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनु पर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्ने उहाँको भनाई छ ।
जिल्लामा पानी पर्ने क्रम जारी भएकाले फेरी डेंगुको संक्रमण बढ्ने खतरा बढेकाले सबैलाई सजग रहन कार्यलयले आग्रह गरेको छ ।





