चितवनः संघिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चाप अनुसार कर्मचमरी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक १ हजार ५ सय हाराहारी बिरामी बहिरंग सेवामा आउने गर्दछन् ।
चितवन सहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरवन्दी १७७ जनाको रहेको छ । अस्पतालमा ४४ जना चिकित्सकको मात्र स्विकृत दरवन्दी रहेको छ । अस्पताल बिकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल संचालन हुँदै आएको छ । जहाँ १६५ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेलका अनुसार दुई वर्ष अघि अस्पतालमा भएको ओएनएम सर्वे अनुसार १ हजार ८७ कर्मचारी आबश्यक पर्ने हो । सर्वे अनुसार कर्मचारी नहुँदा अस्पताल बिकास समिति र ठेकेदार मार्फत राखिएका कर्मचमरीहरुको भरमा अस्पताल चलिरहेको छ । बि. सं. २०७५ सालमा अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा ५ सय शैय्या वनाउने निर्णय भए पनि अहिले सम्म कार्यान्वयनमा आउन नसक्दा कर्मचारीको अभावका कारण व्यवस्थापनमा कठिनाई भएको हो । अहिले अस्पताल ६ सय शैय्यामा सञ्चालनमा छ ।
अस्पतालमा सरकारी र बिकास समिति गरि ९१५ जना चिकित्सक कर्मचारी कार्यरत रहेका छन् । सरकारले ५ सय शैयाको अस्पतालको रुपमा बिकास गर्दै गर्दा पनि दरवन्दी भने १५० शैयाको मात्र रहेको छ । पौडेलका अनुसार दैनिक एक जना चिकित्सकले ३० जना बिरामी हेर्नु पर्नेमा ५० देखि एक सय जना सम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “विश्व स्वास्थ्य संगठनका अनुसार एक जना चिकित्सकले ३० जना बिरामी हेर्ने हो तर यो सम्भव छैन ।”
भरतपुर अस्पतालमा बिरामीको विश्वास वढ्दै गएकाले चाप दैनिक वढेको गएको उहाँले जानकारी दिनुभयो । कोभिड संक्रमणको समयमा भन्दा पछिल्ला वर्षमा बिरामीको चाप वढ्दै गएको पौडेलले बताउनुभयो । उहाँका अनुसार स्वास्थय बिमा कार्यक्रममा अस्पतालमा लागु हुनु, अस्पताल प्रति विश्वास वढ्दै जानु र अस्पतालमा दिईने सेवालाई बिशिष्टकृत गर्दै जाँदा बिरामीको चाप वढ्दै गएको हो ।
अस्पताका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा शैय्या वढेको, सघन उपचार कक्ष थप गर्नु, बाल सघन उपचार कक्ष (पिआईसियु) सञ्चालनमा आउनु, अस्पतालका भौतीक संरचना संगै अत्याधुनिक प्रबिधिबाट उपचार हुनुले अस्पताल प्रति बिरामीको आकर्षण वढेको हो । बिरामीको चाप वढे संगै अहिले अस्पतालमा मृगौलाको डायलासीस उपकरण थप गरि २० वटा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । ६ वटा थप गर्न लागिएको हो । आधुनिक शल्यक्रिाय कक्ष, आकस्मिक कक्षका लागि छुट्टै टिकट काउन्टर, बिशेषज्ञ सेवाका लागि जीओपिडि, बहिरंग सेवाको टिकट काट्ने काउण्टर थप संगै उपचार समय पनि थप गरिनु, बिशेषज्ञ सेवा नियमित हुनुले अस्पतालमा बिरामीको चाप वढेको उहाँले बताउनुभयो । बिरामीको चाप अनुसारको व्यवस्थापनका लागि अस्पताल प्रशासन लागि परेको उहाँको भनाई छ ।
प्रसुति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालका रुपमा भरतपुर अस्पताल चिनिन्छ । जिल्लामा प्रसुतीको पहिलो रोजाई भरतपुर अस्पताल वनेको छ ।

प्रतिक्रिया दिनुहोस !