चितवनः एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिईएको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिना यता कार्यकारी निर्देशक नहुँदा दैनिक काम प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामाग्री खरिद प्रभावित बनेको हो ।
भुक्तानी गर्नुपर्ने बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्रीहरु आउन छाडेपछि नियमित काममा समेत अवरोध पुगेको हो । अस्पतालका सूचना अधिकारी गृहनारायण महतोका अनुसार दुई महिनादेखि अस्पतालका चिकित्सक कर्मचारीको तलब पाएका छैनन् । असार तेस्रो महिना हुन्छ । उहाँले भन्नुभयो “अक्सिजन ग्यास समेत झिकाउन गाह्रो भईसक्यो । कतिपय औषधि अभाव हुन थालेको छ ।” यसको प्रभाव दीर्घकालिन रुपमा हुने भन्दै उहाँले तत्काल कार्यकारी निर्देशक नियुक्त नभएमा दैनिक कामकाज प्रभावित हुने बताउनुभयो ।
यस वर्ष खरिद गरिएका सामग्रीहरुको भुक्तानी असार महिनामा सक्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक पर्ने गृहकार्य समेतका लागि समय छोटो भईसकेको उहाँ बताउनुहुन्छ । अस्पताल मियो बिनाको दाइँ जस्तो हुन थालेको महतोले गुनासो गर्नुभयो । नेतृत्व नभएपछि नियमित काममा खट्नपटन समेत प्रभावित बनेको छ ।
डा.देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको हो । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । अस्पतालमा अध्यक्ष रहे पनि कार्यकारी जिम्मेवारी नहुने हुनाले दैनिकी सहज बनाउन कठिन हुने गरेको छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.विजयराज न्यौपाने कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएको बताउनुहुन्छ । उहाँले औषधि लगायत अस्पतालमा आवश्यक अन्य सामान खरिद समेत प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ काम गर्न र दैनिक कार्य सञ्चालनमै समस्या छ ।” सञ्चालक समितिले पूर्णता पाउन नसक्दा बैठक नै बस्न नसकेको उहाँको भनाई छ ।
डा. न्यौपानेले भन्नुभयो “म नियुक्ति भएर आएको दुई महिनाभन्दा बढी भयो, म आएपछि एउटा पनि बैठक बस्न सकिएको छैन ।” उहाँका अनुसार गत फागुनदेखि सञ्चालक समिति पूर्ण छैन । सञ्चालक समितिको गणपूरक संख्या समेत नपुग्ने भएकाले बैठक बस्न नसकेको अध्यक्ष डा. न्यौपाने बताउनुहुन्छ ।
१४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना स्वास्थ्य मन्त्रीको सिफारिसमा मन्त्रीपरिषद्ले नियुक्ति गर्ने व्यवस्था रहेको छ । उक्त ६ जनाको पद अहिले रिक्त रहेको छ । भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने ऐनमा व्यवस्था छ । यस्तै समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ । सरकारले नियुक्त गर्ने ६ जना र समितिले नियुक्त गर्ने २ जना सदस्य पद रिक्त रहेको छ । ६ जना मध्ये दुई जना सामाजिक क्षेत्रका व्यक्ति हुन्छन् भने चार जना क्यान्सर विशेषज्ञ हुनुपर्दछ ।
सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्ति मध्येबाट स्वास्थ्य मन्त्रीले कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था छ । समितिले नै पूर्णता पाउन नसकेपछि कार्यकारी निर्देशक पद समेत रिक्त रहेको हो ।
अस्पतालका अधिकांश प्रशासनिक कार्य गर्न कार्यकारी निर्देशक आवश्यक पर्दछ । नियमावली अनुसार कार्यकारी निर्देशकले समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने–गराउने, अध्यक्षको समन्वयमा अस्पतालको बार्षिक योजना सहितको आयव्यय अनुमान समितिमा पेश गर्ने, अध्यक्षको अनुमति लिई समितिको बैठक बोलाउने, समितिको बैठक समक्ष पेश गर्ने प्रस्ताव तथा छलफलका विषयसूची र कार्यबिधीहरु तयार गर्ने, अस्पतालको प्रशासकीय प्रमुख भै काम गर्ने रहेका छन् ।
यस्तै अस्पतालका कर्मचारीको कार्य विवरण तयार गरी कार्यान्वयन गर्ने–गराउने, अस्पतालका कर्मचारी र समिति बीच समन्वयात्मक भूमिका निर्वाह गर्ने, समितिले गरेका निर्णयको कार्यान्वयन गर्ने–गराउने, मन्त्रालय, समिति र अध्यक्षले दिएको निर्देशनको पालना गर्ने –गराउने, अस्पताललाई हित हुने गरी अन्य संघ संस्थाहरुसँग राष्ट्रिय रुपमा आफै र अन्तरराष्ट्रिय रुपमा अध्यक्षसँग परामर्श गरी सम्झौता गर्ने र समितिलाइ जानकारी गराउने काम कार्यकारी निर्देशकको रहेको छ ।
अस्पतालको महत्वपूर्ण जिम्मेवारी रहने कार्यकारी पद रिक्त हुँदा त्यसको असर कर्मचारी र बिरामीसम्म परेको छ । देशैभरी र भारतबाट समेत बिरामीहरु यहाँ उपचारका लागि आउने गर्दछन् ।





