चितवनः अमेरिकामा रहेका नेपाली चिकित्सकहरुले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसियसन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. नम्बर १ देवघाटमा यहाँका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । बि.सं. २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण शुरु गरिएको भवन सम्पन्न भएको छ ।
भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरि पोखरेलका अनुसार चार कोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका बृद्धबृद्धाहरुको उपचार सुरु गरिएको छ ।
विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिंदै आएकोमा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा शुरु गरिएको हो । केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताल लगायतबाट चिकित्सकहरु गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सकहरु स्वतस्फूर्त रुपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताउनुभयो । यसैगरी औषधि समेत निःशुल्क व्यवस्था गरिंदै आएको छ ।
उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भन्नुभयो “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधि लगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।
केन्द्रसँगै अस्पताल निर्माणको तयारी समेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउनुहुन्छ ।






