आँखाको न्यून दृष्टि वा दृष्टि दोषको कुरा गर्ने हो भने अधिकांश कारण मोतियाविन्दु (क्याट्रयाक्ट) को हो । पछिल्लो समय देखा पर्न थालेको जलविन्दु र मधुमेहले गर्दा डाईविटिज रेटिनोप्याथी पनि न्यून दृष्टि दोषको कारण बन्ने गरेको छ । यी तीन वटा न्यून दृष्टिका मुख्य कारणहरु हुन् । अर्काे रेटिनामा लाग्ने एआरएमबि भनिने उमेर अनुसार दृष्टि पर्दामा सबैभन्दा राम्रो देखिने म्याकुलामा उमेर अनुसार केही परिवर्तन भएर दृष्टि हराउने गर्दछन् । यो पनि न्यून दृष्टिको कारण मध्येमा पर्दछ ।

शहरी क्षेत्रमा हेर्ने हो भने रिफ्याक्टीभ ईरर, ग्लोकोमा, डाईबिटिज रेटिनोप्याथी बढी देखिने गरेका छन् । ग्रामीण क्षेत्रमा मोतियाविन्दु र ग्लोकोमा सबैभन्दा बढी देखिने गरेको छ । नेपालमा आँखाको उपचार जति व्यापक रुपमा गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । आँखा उपचार महंगो उपचार विधि हो । नेपाल सरकार र गैरसरकारी संस्थाहरुको सहयोगमा आँखाको उपचार हुँदै आएको छ ।

हामीहरु गाउँ गाउँमा पुगेर सर्जिकल क्याम्प गर्ने गरेका छौं । त्यहाँ मोतियाविन्दको शल्यक्रिया र सजिलै पत्ता लगाउने आँखाका रोगहरु खोजी गरी उपचार गर्दछौं । यदि जटिल खालको शल्यक्रिया गर्नुपर्ने छ भने अस्पतालमै ल्याएर पनि शल्यक्रिया र अन्य उपचार गर्ने गरेका छौं ।

आँखाको दृष्टिदोष निको पार्नलाई नेपालमा जनशक्तिको अभाव छ । अझै आँखाका दक्ष चिकित्सक र नर्स तयार पार्नुपर्ने आवश्यकता छ । आँखा उपचारमा प्रयोग हुने उपकरण पनि महंगो हुन्छ । यो सजिलो काम छैन । यस अस्पतालमा पनि अधिकांश उपकरणहरु दाताहरुबाट नै प्राप्त भएका छन् र हामीले यत्तिको सेवा दिन सकेका छौं । सरकारले अहिले स्वास्थ्य बीमा गरेका छ, यसबाट सर्वसाधारणले केही राहत पाएका छन् । यसलाई अझै व्यापक र सहज बनाउनु आवश्यक छ ।

विश्व दृष्टि दिवसको यस वर्षको नारा “लभ यूओर आईज (आफ्नो आँखालाई माया गरौंँ)” भन्ने छ । हाम्रो आँखा छ भने मात्रै सबै कुरा गर्न सक्छौं । आर्थिक रुपमा, सामाजिक रुपमा पनि आँखा छ भने सक्षम हुन सक्छौं ।

नेपालको जनसंख्याको आधारमा आँखाको उपचार गर्ने दक्ष जनशक्ति र अस्पताल पर्याप्त छैनन् । नेपालको भौगोलिक अवस्था अनुसार पहाड र हिमाली क्षेत्रमा गएर सेवा गर्न कठिन छ । नेपालका पहाडी क्षेत्रमा आँखा उपचारका सबै सुविधा भएको राम्रो अस्पताल स्थापना गर्नु अति जरुरी छ ।

नेपालका ग्रामीण क्षेत्र त छाडौं, शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशतलाई नजिक देख्ने चस्मासम्म उपलब्ध भएको छैन । हामी आँखा उपचारको यस्तो स्तरमा रहेका छौं । प्रष्ट भन्नुपर्दा हामी आँखा उपचारको गम्भीर अवस्थामा छौं । हामी दिनरात बिरामीको सेवा गरिरहेका छौं । तर जनसंख्यालाई हेर्ने हो भने हामीले आँखा उपचारमा केही काम गरेका छैनौं । अझै धेरै गर्न बाँकी छ ।

तपाई यदि उमेरले ४० वर्ष नाघिसक्नु भयो भने तपाईको आँखामा केही समस्या नभए पनि एक पटक आँखा अस्पताल गएर परीक्षण गराउनुहोस् । तपाईको नजिकको दृष्टि कम भईसकेको हुन सक्छ । यही उमेर समूहमा ग्लकोमाको उच्च जोखिममा हुनुहुन्छ । यही उमेरमा डाइबिटिज रेटिनोप्याथी देखा पर्न सक्छ । आँखाको समस्याको शुरुवातमै रोग पत्ता लगाएर उपचार गरियो भने जीवनभर आँखा देख्न सक्नुहुन्छ ।

बालबालिका विद्यालय जानु अघि एक पटक दृष्टिदोष छ कि छैन भनेर परीक्षण गराउनुहोस् । केही नभएको भए राम्रो भो । यदि कुनै दोष रहेछ भने समयमै उपचार गरेर ठीक बनाउन सकिन्छ, यदि उपचार गरिएन भने उसको आँखा सधै अल्छि आँखा हुन्छ । पछि गएर उपचार गरेर ठीक बनाउन सकिंदैन ।

आँखालाई स्वस्थ राख्न हरियो साजपात, फलफूल, पर्याप्त पानी, दूध लगायत पोषिलो खानेकुरा नियमित खाने गर्नुपर्छ । लागुपदार्थको सेवन नगरौं । आँखाको सरसफाई नियमित गर्ने गरौं ।

 डा. रञ्जितकुमार साह, भरतपुर आँखा अस्पताल

प्रतिक्रिया दिनुहोस !