चितवनः नारायणगढस्थित नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थल बनाउन संघीय तीन मन्त्रालयले काम शुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार समन्वयात्मक रुपमा तीन वटै योजनाको काम अघि बढेको हो ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङ स्थल लगायतको काम गर्दैछ भने शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माण र विद्युतीकरणको कार्य गर्दैछ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ ९८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाईमा ११ वटा खुट्किला निर्माण गर्दै छ । रु.१९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आव्हान गरिएको उहाँले जानकारी दिनुभयो । खुट्किलाको सतह २ मिटर चौडा हुन्छ भने अन्य खुट्किलाहरु ५० सेन्टिमिटर चौडा हुन्छन् । उहाँको भनाईमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षारोपण गरिने छ । पाँच मिटरको फरकमा विरुवा लगाईने उहाँले जानकारी दिनुभयो ।
आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर शंकर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको छ । उहाँले भन्नुभयो “बाढीले नबगाउने गरी आकर्षक ढंगले सिढी निर्माण गरिंदै छ ।” यसले तटबन्धनको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उहाँको भनाई छ । यो तटबन्धनका कारण नवलपरासीतर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिईएको छ ।
भरतपुर महानगरपालिकाका इञ्जिनियर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय भित्री क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गतको २.४ किलोमिटर वाकवे, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुईवटा पार्किङ स्थल, बगैँचालगायत निर्माणका काम भईरहेको छ । रु ६ करोड ५० लाख बजेटमा काम भईरहेको छ ।
यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भू–भाग १५ बिगाह क्षेत्रमा फैलिएको छ ।
तटबन्धन बाहेकक रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मिक प्रवेश क्षेत्र र हरियाली क्षेत्र रहनेछन् ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको रु.५० करोडको बोलपत्र आव्हान गरेको छ । आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दै छ । त्यसैगरी आरती क्षेत्र वरपर बत्तीहरु राख्दैछ । उहाँका अनुसार झण्डै रु.२ करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दै छ । उहाँले भन्नुभयो “हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौं ।” स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनः जोडेर यस वर्ष सोही गुरुयोजना अनुसारका रु.५० करोडका काम अघि बढेको महानगरले जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती तीन मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार शुरुमा पदमार्ग लगायतका काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सी वीच मोडलमा विकास गर्ने गुरुयोजना अनुसार संघीय मन्त्रालयहरुले सहकार्य गरेको उहाँको भनाई छ । काम नजुध्ने गरी व्यवस्थित ढंगले अघि बढाईने दाहाल बताउनुहुन्छ ।
महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेलहरु पनि खेल्न सकिनेछ । दाहालले भन्नुभयो “म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।”
सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उहाँको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने दाहालको भनाइ छ । धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताउँदै नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाईने बताउनुभयो ।
पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।





