चितवनः जिल्लामा जापनिज इन्सेफ्लाईटीसका कारण थप एक जनाको मृत्यु भएको छ । एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ की ५२ वर्षिया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचिमा रहे पछि खोजिका क्रममा यस अघिनै मृत्यु भएको ढिला गरि थाहा भएको हो ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईका अनुसार यो संगै जिल्लामा जापनिज इन्सेफ्लाईटीसका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ चैनपुरकी ६० वर्षिया बृद्धा रहेकी थिइन । चापागाईका अनुसार हाल सम्म जिल्लामा जापनिज इन्सेफ्लाईटीस पुष्टि भएका १० जना मध्ये दुई जनाको मृत्यु भएको हो ।
पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमुना भरतपुरको नारायणी सामुदायीक अस्पतालबाट पठाईएको उल्लेख छ । यता अस्पतालको रेकडमा भने ती बिरामीको नाम नभएको चापागाईले बताउनुभयो । थप बिबरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उहाँले जानकारी दिनुभयो । बिस्तृत बिबरण महानगर मार्फत आउने उहाँको भनाई छ ।
जिल्लामा जापानिज इन्सेफ्लाईटीसको महामारी देखिएको छ । चापागाईका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन । माडी नगरपालिका वडा नम्बर ४ का ७४ बर्षिय पुरुषमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप बिबरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ ।
सन् २०२१ मा जिल्लामा यो संख्या १ जना रहेको थियो । सन् २०२० मा १ जना थियो भने सन् २०१९ मा जिल्लामा यो संख्या शून्य रहेको थियो । सन् २०१८ मा १ जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका हुन भने त्यस पछिका सबै १५ वर्ष भन्दा माथिका हुन । विश्व स्वास्थ्य संगठनले एउटा जापानिज इन्सेफ्लाईटीसको बिरामी देखिदैंगर्दा ३ सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा ३ हजार जनामा सङ्क्रमण हुन सक्ने भन्दै सतर्कता अपनाईएको चापागाईको भनाई रहेको छ ।
सुङ्गुर प्रजाती र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिले काही बेहोस हुने, छारे रोगको झै शरिरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।






