चितवनः मेडीकल सिटिको रुपमा परिचय वनाउँदै गएको भरतपुरमा एक सय शैय्याको बैकल्पीक चिकित्सा पद्धती सहितको आयुर्वेदीक अस्पताल निर्माणको प्रकृया सुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ शिबनगरमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
सरकारले एक प्रदेशमा एउटा सुबिधा सम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल वन्न लागेको हो । स्वास्थ्य मन्त्रालयको नीति र बजेट अनुसार यो भवन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले निर्माण गर्दै छ । कार्यालयका प्रमुख ई. प्रकाश अर्यालका अनुसार भवनका लागि रु ५५ करोड बहुबर्षिय खरिद गुरुयोजना स्विकृत भईसकेको छ । कार्यालयले नक्साङ्कनको काम अघि वढाएको छ । अर्यालका अनुसार ३÷४ महिनामा नक्सा वनेर निर्माणका लागि वोलपत्र आव्हान गरिदैं छ ।
राष्ट्रिय भवन संहिता अनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड वमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाईदैं छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी लगाएत बैकल्पीक चिकित्सा पद्धतीलाई एउटै छाता मुनी संञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताउनुभयो । नेपालमा काठमाडौंको नरदेवीमा एक सय शैय्या र सुदुरपश्चिममा ५० शैय्याको अस्पताल सञ्चालनमा रहेका छन् । अन्य प्रदेशमा भन्दा यहाँ छिटो काम हुन लागेको अधिकारीले जानकारी दिनुभयो ।
सोही ठाउँमा ३ सय शैय्याको शिक्षक अस्पताल समेत बन्दै छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदीक अस्पताललाई आबश्यक जग्गा उपलव्ध गराईएको बताउनुभयो । जिल्लामा अन्य उपचार संगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण वन्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “बैकल्पीक चिकित्सा पद्धतीलाई एउटै छातामुनी सञ्चालन गर्नेगरी अस्पताल निर्माण गर्न लागिएको हो ।” आयुर्वेद अस्पताल भरतपुरमा निर्माणका लागि महानगरपालिकाले पहल कदमी गरेको थियो । सरकारी र नीजि स्वास्थ्य संस्था यहाँ स्थापना र प्रबर्धनका लागि महानगरपालिकाले भूमिका निर्बाह गर्दै आएको छ । दाहालको भनाईमा केही वर्ष भित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ । उहाँले भन्नुभयो “भरतपुर अन्य क्षेत्र संगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ ।” यसको व्यवस्थापनमा महानगरले काम गरिरहेको छ । अहिले क्यान्सर अस्पतालले देशै भरीका बिरामीलाई सेवा दिएको र शिक्षक अस्पताल बने संगै सोही अनुरुपमा देशभरका शिक्षकले सेवा पाउने दाहाल बताउनुहुन्छ ।
भरतपुरमा संघिय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडीकल कलेज, २४ भन्दा वढि साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा रहेका छन् । नीजि क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षक अस्पताल लगाएत निर्माणको प्रकृयामा रहेका छन् । राजधानी वाहीर सबैभन्दा वढि स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ । एकिन तथ्याङ्क नभए पनि बार्षिक २० लाख हाराहारीले यहाँबाट सेवा लिने गरेको अनुमान रहेको छ । भारतीय सिमा क्षेत्र र नेपाल भरीबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !