चितवनः शहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारको लागि आउन थालेको चिकित्सकहरु बताउँछन् । पहिले पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकोमा पछिल्ला दिनहरुमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका वासिन्दाहरुको परिश्रम घटेको र खानपान शहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा शहरीया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थ जस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. कालिदास अधिकारी ग्रामीण क्षेत्रमा शहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउनुहुन्छ । खानपानमा परिवर्तन, माछा, मासु, मदिरा जस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरुमा समस्या देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “गाउँमा पनि क्रयशक्ति बढ्यो, शहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।”

मानिसको जीवनशैलीमा परिवर्तन आएको भन्दै उहाँले शहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेको उहाँको अनुभव छ ।

कलेज अफ मेडिकल साईन्सेस भरतपुरका फिजिसियन डा. प्रकाश अर्याल शहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसंख्याको अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तीकै समस्या देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “जो गाउँमा बस्नुहुन्छ, उहाँहरुले पनि खानपानमा ध्यान दिनु प¥यो, नियमित परीक्षण गर्नुप¥यो ।”

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने भन्दै उहाँले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनु पर्ने उहाँको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र बंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराईरहनु पर्ने उहाँको भनाई छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा ३ देखि ५ वर्षमा परीक्षण गर्न सकिने डा. अर्यालको सुझाव छ । उहाँले थप्नुभयो “शहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेहरुले पनि नियमित परीक्षण गर्नुप¥यो ।”

चितवन मेडिकल कलेजका इण्डोक्राईनोलोजिष्ट डा. सौरव खतिवडाले शरीरमा चिनिको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनिको मात्रा बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो अवस्थालाई मधुमेह भनिन्छ ।” उहाँले थप्नुभयो “खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाईबिटिज) भन्दछौं ।” मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी) लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्नु पर्ने उहाँले बताउनुभयो ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने बताउँदै उहाँले भन्नुभयो “मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ ।” अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको भन्दै उहाँले भन्नुभयो “जसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र ईन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन् । यसले मधुमेह बनाउँछ ।”

दैनिक आधाघण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिंदै उहाँले भन्नुभयो “बंशाणुगत रुपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच÷दश वर्ष पछाडि धकेलिन्छ ।” शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान सुझाव दिंदै उहाँले भन्नुभयो “हाम्रो खानामा भात, ढिलो बढी खान्छौं । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकोले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।” आफ्नो तौल, उमेर र उचाई अनुसार डाईटिसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उहाँको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने उहाँले बताउनुभयो । उहाँले एकै पटक धेरै नखान र पटक पटक थोरै थोरै गरेर खान सुझाव दिनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा. भोजराज अधिकारी मधुमेह आफैमा रोग नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “मधुमेह रोग होइन, रोग हुन सक्ने कुराहरुको संग्रह मात्रै हो ।” मधुमेहका कारण आँखा, मुटु, मृर्गाैला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “मधुमेहलाई राम्रोसँग नियन्त्रण ग¥यौं भने स्वस्थ जीवन जिउन सकिन्छ ।”

सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको भन्दै उहाँले आज करिब ४० वर्षपछि यो संख्या ४५ करोडभन्दा बढी पुगेको जानकारी दिनुभयो । मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय अधिकारीले अर्काे ४५ करोड मधुमेह हुन सक्ने, पत्ता नलागेका र अर्काे वर्ष वा जीवनशैली नबदलेमा हुन सक्ने मानिसको संख्या रहेको बताउनुहुन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उदृत गर्दै उहाँले विश्वका सात अर्ब जनसंख्यामा करिब ९० करोड मधुमेह भएका वा हुन सक्ने मानिस रहेको जानकारी दिनुभयो ।

नेपालमा पनि करिब करिब ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको उहाँको भनाई छ । नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको बताउँदै उहाँले भन्नुभयो “अर्काे ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ । नेपालका शहरी क्षेत्रमा गरिएका अध्ययनहरुले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको भन्दै उहाँले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउनुभयो । यो संख्या ग्रामीण क्षेत्रमा बढ्दो रहेको अधिकारी बताउनुहुन्छ ।

स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एक पटक मधुमेह परीक्षण गर्न उहाँले सुझाव दिनुभयो । उहाँले थप्नुभयो “वर्षमा एक पटक परीक्षण गरियो भने करिब करिब फेरी मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।”

प्रतिक्रिया दिनुहोस !