काठमाडौँ,२२ असोज । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिने भएका छन्।

स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि मन्त्रीबाट बाहिरिने निश्चित जस्तै भए पनि अन्तिम समयमा देउवाले उनलाई विना विभागीय राज्यमन्त्रीका रुपमा निरन्तरता दिने भएका हुन्।

प्रधानमन्त्री देउवाका आर्थिक सहयोगीका रुपमा रहेका श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइने बालुवाटार स्रोतले जानकारी दियो।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका नातेदार गजेन्द्र हमाललाई पनि मन्त्री बनाउने भएका छन्। नेपालगञ्जका कांग्रेस कार्यकर्ता भए पनि उनी प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बन्ने चर्चा केही समयदेखि हुँदै आएको थियो।

कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका बाँके जिल्ला सभापति भएका हमाल प्रधानन्यायाधीश राणाका जेठान नता पर्छन्।

उनलाई मन्त्री नबनाउन दबाब भए पनि प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनाउन लागेका हुन्। संघीय संसदको सदस्य नभएका हमाल ६ महिना मात्रै मन्त्री बन्न पाउँछन्।

यसअघि कांग्रेसले मन्त्री बन्ने पाँचजनाको नाम टुंग्याएको थियो। कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्।

पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् भने दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो। सिटौल समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस !