चितवन, : चितवन मेडिकल कलेज (सिएमसी) ले क्रिटिकल केयरको निःशुल्क तालिम दिने भएको छ । कोभिड १९ व्यवस्थापनमा क्रिटिकर केयर सेटअप सम्बन्धी तालिम दिने भएको हो ।
कलेजका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेका अनुसार जेठ ७ गतेदेखि शुरु हुने तालिम भर्चुअल माध्यमबाट हुनेछ । मुख्य गरी पश्चिम नेपालमा अधिक कोभिडका बिरामी भएका अस्पतालका आईसियूमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “क्षमताभन्दा बढी कोभिडका बिरामी भएका अस्पतालमा तालिमको अवसर नपाएका जनशक्तिले आईसिूमा काम गरिरहेका छन् । उनीहरुलाई दक्ष बनाउनु हाम्रो उद्देश्य हो ।”
तालिमको अवसर नपाएका आईसियूमा काम गरिरहेका नर्स, एमओ, रेसिडेन्ट, एनेस्थेसियोलोजिष्ट, इन्टनल मेडिसिन कन्सल्टेन्टहरुका लागि यो तालिम उपयोगी हुने न्यौपानेको भनाई छ । कलेजका पल्मोनरी मेडिसिन र क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका स्पेशलिष्ट प्राध्यापकहरुले तालिम दिने उहाँले जानकारी दिनुभयो ।
तालिम पश्चात् परीक्षा लिईने छ । उक्त परीक्षा उत्तीर्ण हुनेलाई तालिममा उत्तीर्ण भएको प्रमाणपत्र र उत्तीर्ण हुन नसक्नेहरुलाई तालिममा सहभागि भएको प्रमाणपत्र दिने व्यवस्था रहेको कलेजले जनाएको छ । कलेजका वेभसाईड www.cmc.edu.np मा गएर निःशुल्क नाम दर्ता गर्न सकिने व्यवस्था रहेको छ । तालिम हरेक दिन साँझ ८ बजेदेखि नौ बजेसम्म हुनेछ । तालिममा १५ वटा भिन्दाभिन्दै कक्षाहरुमा आवश्यकता अनुसार भिडियो तयार गरी सहभागीलाई देखाईने छ । यो अवसरको सदुपयोग गरी मानवीय सेवामा लाग्न प्रा.डा. न्यौपानेले आग्रह गर्नुभयो ।






