नवलपुर, : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा आज सोमबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएको छ ।

गैँडाकोटमा संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले प्रशासनले जारी गरेको निषेधाज्ञालाई थप कडाई गर्न लागेको हो ।

नगरपालिकामा औषधि उपचार गर्न र दूध तथा पानी खरिद बिक्री गर्न बाहेक कोही पनि घरबाहिर निस्कन र हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ ।

औषधि तथा दूध र पानी बिक्री वितरण गर्ने पसलहरु बाहेक अन्य व्यापार व्यवसाय लगायत सम्पूर्ण क्रियाकलापहरु बन्द गर्नुपर्ने बताइएकाे छ ।नगर स्तरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए ।

नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा सहकारी समेतका वित्तीय संस्था न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र विहीबार १० बजेदेखि १२ बजेसम्म २ घण्टा मात्र खुल्ला रहने गरी व्यवस्था मिलाउन भनिएको छ ।
एम्बुलेन्स, शववाहन, दूध र पानी ढुवानी गर्ने सवारीसाधन, औषधि उपचारजन्य सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधन चलाउन नपाईने उल्लेख गरिएको छ ।

त्यस्तै विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व मनाउने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा समेत रोक लगाईएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा वढि मलामी नजान र जानुपरेमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अनिर्वाय गरिएको छ ।

गैँडाकोटमा अहिले ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !