चितवनः जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप वढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडीकल कलेज, भरतपुर अस्पताल, बिपि कोइराला मोमोरीयल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायीक हस्पिटल र नेश्नल सिटि अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भईरहेको छ ।
यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याईएका शैयाहरु भरिन लागेका छन् । चितवन मेडीकल कलेजले २ सय ५३ शैया कोभिड उपचारका लागि भनेर छुट्याएकोमा अहिले १ सय ५३ जना कोभिडका बिरामीहरु रहेका छन् । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार कोभिडका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकोमा अहिले त्यहाँ २९ जना बिरामी रहेका छन् । बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ । २३ जना एचडियुमा रहेका छन् भने १ सय १ जना सघन उपचार कक्षमा रहेको उहाँले जानकारी दिनुभयो । अन्य एचडियुमा रहेको उहाँको भनाई छ । अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

उहाँले भन्नुभयो “कोभिडको रिपोट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखि उपचार गरिरहेका छौ ।” अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दानक स्थिति भएको उहाँको भनाई छ । उहाँले थप्नुभयो “दैनिक जसो अस्पताल आउँदा आउँदै मत्यु हुने बिरामीको संख्या ४ देखि ५ जना रहेका छन् ।”स्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमानै मृत्यु भईसकेकाहरुको स्वाब नै परिक्षण नगरि पठाउँने गरिएको छ । बिरामीको चाप वढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उहाँले बताउनुभयो ।
यस्तै पुरानो मेडीकल कलेजमा पनि बिरामीको चाप वढेको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार अस्पतालमा अहिले ६६ जना कोरोना सङ्क्रमितको उपचार भईरहेको छ । अस्पतालले सङ्क्रमित बिरामीहरुको उपचारका लागि दुई सय शैया छुट्याएर उपचार गरिरहेको छ । अस्पतालमा रहेका बिरामी मध्ये १२ जना भेन्टिलेटरमा रहेका छन् । अन्य सघन उपचार कक्ष ५२ जना र एचडियुमा २ जना राखेर उपचार गरिएको छ । न्यौपानेका अनुसार बिरामीको चाप वढ्दै गएको छ । यही अनुसार सङ्क्रमित वढ्दै गए बिरामीको चाप अनुसारको सेवा दिन अस्पताललाई कठिन हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले पनि सङ्क्रमण पुष्टि नभएका १३ जनालाई आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौ ।” कोरोनाका कारण कठिन अबस्था आएको बताउँदै उहाँले भन्नुभयो “अहिले सम्मत अक्सिजनको समस्या छैन । बिरामी वढे जिल्लामा पनि अक्सिजनको समस्या आउन सक्छ ।” सो अस्पतालमा पनि भेन्टिलेटर खालि छैनन् ।
भरतपुर अस्पतालमा १ सय ३७ जनाको उपचार भईरहेको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण रिजालका अनुसार अस्पतालममा कोभिडका बिरामी राख्ने क्षमता १ सय ४५ जनाको हो । पहिला १ सय ३५ जनाको क्षमता भए पनि आइतबार थप १० शैया वनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षमा ९ जना, एचडियुमा २५ जना र सामान्य कक्षमा १ सय ३ जना बिरामी रहेका छन् ।
अहिले अस्पतालमा आएका बिरामीहरु सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल वन्दै गएको उहाँको भनाई छ । सरकारी अस्पतालमा उपचार गर्ने सरकारको निति अनुसार सङ्क्रमित थपिदैंं गएमा अन्य वाडहरु खालि गरि शैया थप्दै लैजाने तयारीमा अस्पताल रहेको छ । अहिलेकै अबस्थामा अक्सिजनको प्रयाप्तता भए पनि बिरामी वढेमा समस्या आउने अस्पतालले जनाएको छ ।
यता भरतपुरको बिपि कोइराला मेममोरियल क्यान्सर अस्पतालमा १ जना कोरोना सङ्क्रमितको उपचार भईरहेको छ । अस्पतालले क्यान्सर रोग लागेका र कोरोना सङ्क्रमण देखिएकालाई राख्नका लागि २० शैंयाको वाड तयार गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार आबश्यकता अनुसार अस्पतालका सबै ४ सय शैयानै कोभिडको बिरामीका लागि प्रयोग गर्न सकीने छ । अन्य अस्पतालमा बिरामीले उपचार गर्न नपाउने अबस्था आएमा क्यान्सरलाई पनि प्रयोग गरिने उहाँले जानकारी दिनुभयो ।
भरतपुरको चौबिसकोठिमा रहेको पुष्पाञ्जली अस्पतालमा अहिले कोभिड सङ्क्रमित बिरामी १९ जनाको उपचार भइरहेको छ । सो अस्पतालमा २० जना सङ्क्रमितको उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षममा ६ जना र १३ जना वाडमा उपचार भईरहेको छ । अस्पतालमा अक्सिजनको क्षमता अनुसार मात्र कोरोनाका बिरामी राख्ने उहाँले बताउनुभयो ।
यस्तै जिल्लाको नारायणी सामुदायीक हस्पिटल र नेश्नल सिटि अस्पतालले समेत कोरोना सङ्क्रमितको उपचार सुरु गरेका छन् । नारायणी सामुदायीक हस्पिटलमा अहिले १२ जना सङ्क्रमितको उपचार भईरहेको छ । ती मध्य ३ जनाको सघन उपचार कक्षमा उपचार भईरहेको छ । नेश्नल सिटि अस्पतालमा १ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा ३ सय ९० जना सङ्क्रमितको उपचार भईरहेको छ । जस मध्ये १ सय ७६ जना चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन । जिल्लामा आज सम्म ९ हजार ५ सय १९ जना कोरोना सङ्क्रमित भएका छन् ।
उपचारका लागि आउने बिरामीहरुमा छिमेकी जिल्लाहरु धादिङ्, लम्जुङ्, गोरखा, मकवानपुर, बारा, पर्शा, रौतहट, कैलाली, नवलपुर, नवलपरासी, रुपन्देही, अर्घाखाँची, प्युठान रहेका छन् । कतिपय जिल्लाबाट हेलिकप्टरमा पनि बिरामी यहाँ ल्याईएको छ । अहिले सम्म कोभिडका बिरामीका लागि शैया भए पनि भेन्टिलेटरको अभावका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।






