चितवनः चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र गैंडा मृत अबस्थामा भेटिएको छ । निकुञ्जले आज जारी गरेको सूचनामा अमलटारी क्षेत्रको कलकत्ता टापुमा भाले गैंडा र सौराहा क्षेत्रको चपरचुली खहरे खोला क्षेत्रमा पाटेबाघ मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जले दिएको जानकारी अनुसार कलकत्ता टापुमा भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैंडा मरेको अनुमान गरिएको छ । अन्दाजी ३० वर्षको भाले गैडा सोमबार मृत अवस्थामा भेटिएको हो । सो गैडाको खाग खुर लगायत सामान सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
यस संगै साउन यता निकुञ्जमा २६ वटा गैंडा मरेका छन् । जसमध्ये ४ वटा चोरी शिकारीले मारेका हुन ।
यस्तै सौराहा क्षेत्रमा पर्ने निकुन्जको भित्रि इलाका चपरचुली खहरे खोला क्षेत्रमा अन्दाजी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटेबाघ मृत अवस्थामा फेला परेको छ । सो बाघ प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । यस आर्थिक वर्षमा पाटेबाघ मरेको यो पहिलो हो ।






