म्याग्दी ।  आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे, काफलडाँडामा आलु उत्पादन घटेको छ । उत्पादन घटेपछि माग धान्न गाह्रो भएको छ । चिसो हावापानीमा उत्पादन हुने यहाँको आलु स्वादिलो र पौष्टिक हुने भएकाले सहरी क्षेत्रमा माग राम्रो छ ।

वडामा निर्यात हुने खाद्यबालीका रुपमा आलुखेतीलाई लिने गरिएको छ । केही वर्षअघिसम्म गाउँमा आलुखेतीबाट किसानले राम्रो आम्दानी गरे पनि अहिले उत्पादन घटेपछि माग धान्न नसक्ने अवस्था आएको नाँगीकी किसान तथा अन्नपूर्ण गाउँपालिकाका सदस्य राममाया पुनले बताइन् ।

यस वर्ष आलुखेती लगाउने र गोडमेल गर्ने समयमा वर्षा नभएको र खडेरीका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । सिँचाइको वैकल्पिक स्रोत र प्रबन्धन भएकाले आकासे पानीका भरमा आलुखेती गर्नुपर्दा खडेरीको समयमा किसानले दुःख र परिश्रमअनुसारको फल पाउन सकेका छैनन् ।

परम्परागत रुपमा लेकाली क्षेत्रमा उत्पादन भएको आलु कोसेलीका रुपमा दिने पनि चलन छ । धेरै उत्पादन गर्नेले बेँसीमा उत्पादन हुने धान, चामलसँग आलु सटही गर्ने गर्थे । गाउँगाउँमा यातायातको पहुँच बढेपछि मात्रै लेकाली क्षेत्रमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । पहिले गाउँमा उत्पादन भएको आलु धेरै भएर गाईभैँसीलाई पकाएर खुवाउने चलन रहेकामा गाउँमा गाडीको सुविधा भित्रिएसँगै आलु बिक्री हुन थालेको नाँगीका स्थानीय चन्द्रबहादुर खोरजाले बताए ।

गत वर्ष १० मुरी आलु बिक्री गर्नुभएका खोरजाले यस वर्ष आलु उत्पादन घटेकाले आफन्तलाई कोसेली पठाउने र घरमा उपभोगमा मात्रै सकिने भएकाले बिक्री गर्न नपुग्ने बताए । नाँगीमा उत्पादन भएको आलु गाउँबाटै प्रतिकिलो रु ४५ मा बिक्री हुने गरेको छ भने बजारमा प्रतिकिलो रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।

गाउँमा रातो, जनकदेव र रैथाने जातको आलुखेती हुन्छ । राम्चेका स्थानीय कृषक ओमबहादुर पुर्जाले बीउको प्रशोधन नगर्ने, खडेरी पर्ने र बाहिरबाट लगेको बीउमा रोगकीरा भित्रिएपछि त्यसको असर आलु उत्पादनमा देखिएको बताए ।

यस जिल्लाबाट वार्षिक रु १० करोड बराबरको आलु, कुष्मा, बागलुङ, पोखरा, काठमाडौँ लगायत बजारमा बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहलगायतले जिल्लामा आलुखेती विस्तारमा सहयोग गर्दै आएका छन् । म्याग्दीमा एक हजार ८२० हेक्टर जमिनमा आलु खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !