झापा । गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रूपमा फैलिएपछि कोशीका १४ जिल्लामा तीन लाख ३७ हजार ३०१ पशुलाई नि:शुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिए ।
उनले गत वैशाखदेखि हालसम्म झापामा ९९ हजार ६७४, मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, उदयपुरमा १५ हजार ७३०, इलाममा ४१ हजार २८६, खोटाङमा चार हजार २९१, भोजपुरमा आठ हजार ६१५, ताप्लेजुङमा पाँच हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा नौ हजार ७९४ पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप दिइएको उनले बताए ।
“यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भने, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर नि:शुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।” उनले रोग देखा नपरेका ओखलढुङ्गा र सोलुखम्बुका तीन हजार ७०० गाई, गोरु र राँगा, भैँसीमा खोप दिइएको जानकारी दिए ।
यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् । सूचना अधिकारी साहले रोग लागेको पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्न पशुपालकहरुलाई आग्रह गरेका छन् ।






