महोत्तरी । उखु खेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ ।
महोत्तरीमा उखु खेती गर्ने किसानको संख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु. ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । किसानले मंगलवार गौशाला-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे ।
उखु उत्पादक कृषक महासंकका सदस्य महाशंकर थिङका अनुसार किसानले मुख्य रूपले उखु खेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् । माग सम्बोधन नभए आगामी भदौ ८ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने संघले जनाएको छ ।
महोत्तरीमा गत आव २०८१/८२ को यामको उखुबाट किसानले रु २१ करोड ७२ लाख ९१ हजार रकम पाउनुपर्ने छ । महोत्तरीमा आव २०८१/८२ मा अनुदान पाउनुपर्ने किसानको संख्या १४ हजार ५३३ छ । यसपालि यो संख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक संघका अध्यक्ष कुशवाहकको भनाइ छ । आव २०८०/८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापतको जम्मा रु. २० करोड ३३ लाख पाएका थिए ।






