घोराही । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताउनुभयो । उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आउनुभएको छ ।
आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आउनुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।”
उहाँले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आउनुभएको छ । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु दुई लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आउनुभएको छ ।
सुरुमा उहाँका तीन दाजुभाइ मिलेर कागतीखेती गर्नुभएको थियो । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा हुनुहुन्छ भने भाइ जीवनले उहाँलाई सहयोग गर्दै आउनुभएको छ । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उहाँको भनाइ छ । रासस






