चितवनः यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माण गरिरहेको छ ।
धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिदैं काम अघि वढाएको हो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा प्याराफिट मध्ये एउटाको ढलाई सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जना भन्दा वढी कामदारले बिहान ८ वजे देखि वेलुका ९ वजे सम्म काम गरिरहेको आचार्यले वताउनुभयो । छड र सिमेन्ट सहज उपलव्धता नहुँदा काममा केही कठिनाई भए पनि सामाग्री जुटाएर काम भईरहेको उहाँले बताउनुभयो ।

गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो । बि. सं. २०८३ पुस २२ गते सम्ममा रंगशाला निर्माणको काम सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाईएको हो । गएको असार २३ गते ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माणका लागि संघिय सरकारले रु २५ करोड र प्रदेश सरकारले रु १० करोड पठाई सकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र संघिय सरकारले ३० प्रतिशत उपलव्ध गराउने सहमति अनुसार रंगशालाको काम अघि वढेको हो । अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार रंगशाला निर्माण भईरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भए संगै अन्तर्राष्ट्रिय स्तरका खेल यहाँ गर्न सकिने छ । त्रिभूवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व बिद्यालयले उपयोग गरिरहेको २० विगाहा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण भईरहेको छ । गर्मी ठाउँ भएकाले साँझ र रात्रीकालिन समयमा समेत खेल खेलाउनका लागि वत्तिको व्यवस्था गर्न महानगरपालिकाले संघिय सरकार संग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौता अनुसारको तालिकामा काम भईरहेको बताउनुभयो । महानगरबाट गर्नुपर्ने आबाश्यक सहजिकरण महानगरले गरिरहेको भन्दै उहाँले सम्झौता अबधि भित्रै काम सम्पन्न हुनेमा आँफु विश्वस्त रहेको बताउनुभयो । महानगरको गौरवको आयोजना भएकाले उच्च प्राथमिकतामा राखिएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !